
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जान्नेलाई छान्ने नाममा नेपाललाई अस्थिरताको दुष्चक्रमा फसाउने षड्यन्त्र गरिएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पुराना पार्टी असफल भए अब नयाँ खोज्नुपर्छ भन्ने भ्रम फैल्याएको बताउनुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै जान्नेलाई छान्ने भन्ने अयिन्ताहरु सहकारीको रकम कम्पनीमा प्रयोग गर्न पाइँदैन भन्ने पनि जानकारी नराख्नेहरु रहेको बताउनुभयो ।
महासचिव पोखरेलले जान्नेलाई छान्ने भन्नेहरुले नेपालको कानून पहिला जान्नुपर्ने बताउनुभयो । अब युवाहरुले बुझिसकेको भन्दै युवाहरु भ्रमित नहुने बताउनुभयो । मुलुकका समस्या समाधान गर्नका लागि अनुभव नभएकाहरु र राजनीतिक विज्ञानसँग बेखबर भएका, सामाजिक सञ्जालमा लोकप्रियता हाँसिल गरेका भरमा राजनीतिको मैदानमा सफल नभइने बताउनुभयो । राजनीति आफैँमा एउटा विज्ञान भएको बताउनुभयो ।
महासचिव पोखरेलले राजनीति गर्नेहरुले संघर्ष गर्न सक्नुपर्ने र धैयर्ता राख्न सक्नुपर्ने बताउनुभयो । सयौँ फूलहरु फुल्न दिनुपर्छ भन्नुको अर्थ सयौँ पार्टीहरु खोलेर सत्ताको राजनीतिमा लुछाचुँडी गर्नुपर्छ भन्ने नभएको बताउनुभयो । समाजवादका नाममा अनेक प्रकारका दलहरुले खोलेर समाजवादी आन्दोलनलाई कमजोर पार्ने काम भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्