२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एकढिक्का भएर संसदमा एउटै आवाज उठाउन पार्टीका सांसदहरुलाई देउवाको निर्देशन


3.679k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकढिक्का भएर संसदमा एक स्वरका साथ एउटै आवाज उठाउन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

शनिबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र सांसद एवं पार्टीबाट सरकारमा सहभगी मन्त्रीहरुसँगको छलफलमा सभापति देउवाले यस्तो निर्देशन दिनुभएको हो ।

सभापति देउवाको भनाइ उद्धृत गर्दै बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले सभापति देउवाले केही असन्तुष्टि भए पार्टीको बैठकमा राख्न र संसद र बाहिर प्रश्तुत हुँदा व्यक्तिगत नभइ पार्टीको रुपमा आफ्ना धारण राख्न निर्देशन दिनुभएको बताउनुभयो ।

बैठकमा मन्त्रीहरुले सरकारमा भएका काम, कारबाहीबारे जानकारी गराउनुभएको बताउनुभयो । उहाँकाअनुसार बैठकमा वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम, कारबाही, संसदमा प्रश्तुत भएका विधेयकहरु, अध्यादेश र आउने विधेयकहरुका विषयमा गहन रुपमा छलफल भएको छ ।

नेपाली कांग्रेस एक ढिक्का भएर एउटै आवाज र एउटै स्वरका साथ संसदमा प्रश्तुत हुने र बाहिर पनि एकढिक्का भएर प्रश्तुत हुने निर्णय भएको बताउनुभयो । आर्थिक पक्षमा तत्काल केही सुधार गर्नुपर्ने भएकाले र मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन केही विधेयक संशोधन गर्नैपर्ने बाध्यता भएकाले अध्यादेश ल्याएको कुरा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले राख्नुभएको बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधनका विषयमा सरकारले गम्भीरताका साथ गृहकार्य थालेको जानकारी दिनुभयो । उहाँले पार्टी बाहेक पनि सरकारको तर्फबाट संविधान संशोधनका लागि छुट्टै संयन्त्र बनाएर काम अघि बढाउनेबारेमा सरकारमा सहभागी मन्त्रीहरुले जानकारी गराउनुभएको बतउनुभयो । उहाँले आर्थिक गतिविधि चलायमान गर्नको लागि अध्यादेश ल्याएको र सबैले स्वागत गरेको बतउनुभयो ।

प्रवक्ता महतले अध्यादेश, सरकारको स्थितिबारे पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले जानकारी गराउनुभएको बताउनुभयो । विचाराधिन विधेयक संसदबाट छिटो पारित गर्नेबारेमा छलफल भएको बताउनुभयो ।