
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण हुने जनधनको क्षति कम गर्न राष्ट्रिय भवन संहिता पालना गर्नु अपरिहार्य रहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा २७ औं भूकम्प सुरक्षा दिवस अन्तर्गत दुईदिने अन्तराष्ट्रिय गोष्ठिलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।
उपप्रधानमन्त्री सिंहले भूकम्पले सिकाएको पाठ बलियो संरचना र सुदृढ पूर्व तयारीका साथ भन्ने मूल नारा रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले नेपाल बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका कयौँ प्रकोपहरुबाट बारम्बार प्रभावित हुने गरेको बताउनुभयो । उहाँले पछिल्लो समय लगातार विभिन्न खालका विपद्जन्य घटनाबाट प्रभावित हुँदै आएको भन्दै बाढी, पहिरो, महामारी, आगलागी, चट्याङ, शितलहर लगायतका विपद्का घटनाहरुबाट सुरक्षित हुन त्यसैअनुसार पूर्वतयारी तथा खोज उद्धार अवस्थामा सुधार गर्नु आवश्यक रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले इतिहासबाट पाठ सिक्दै अब बन्ने घर संरचनाहरु भूकम्प प्रतिरोधी बनाउनु आजको आवश्यकता भएको बताउनुभयो । जोखिम न्युनीकरणका सम्बन्धमा भवनलगायत भौतिक संरचना सुरक्षित तवरले निर्माण गर्नका लागि जनचेतना फैलाउनु पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो । निर्माण भएका कानूनको प्रभावकारी कार्यान्वयन र कानूनी जटिलतालाई सहज बनाउन त्यसमा आवश्यक हेरफेर, आवश्यक नयाँ योजना तथा नीति तर्जुमा गरेर बस्तीहरुलाई सुरक्षित राख्नुपर्नेमा जोड दिनुभयो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘भूकम्पीय जोखिम न्युनीकरणका लागि भूकम्प प्रतिरोधी थेग्न नसकेरै हाम्रो घर एवं भौतिक संरचनाहरु भूकम्पमा गल्र्यामगुर्लम्म ढले र हामीले अथाह जनधनको क्षति व्यहोर्नुपर्यो। इतिहासबाट पाठ सिक्दै अब बन्ने घर संरचनाहरु भूकम्प प्रतिरोधी बनाउनु आजको आवश्यकता हो ।’
उपप्रधानमन्त्री सिंहले प्राकृतिक प्रकोप र विपद्ले भौगोलिक सीमा नभन्ने भन्दै सबैको सहकार्य र सहयोग जरुरी रहेको बताउनुभयो । – न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्