
काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकाले सहयोग स्थगित गरेका चारवटा आयोजनामा थप दायित्व सिर्जना नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव महेश भट्टराईले आज विज्ञप्ति जारी गरी अमेरिकी सहयोग नियोग (यूएसएड) अन्तर्गत संचालित आयोजनाहरुमा कुनै पनि थप दायित्व सिर्जना नगर्न भनिएको छ ।
यूएसएड र नेपाल सरकारबीच २०२२ मे ५ मा हस्ताक्षरित डेभलपमेन्ट अब्जेक्टिभ एग्रिमेन्ट (डीओएजी) अन्तर्गत प्राप्त अनुदान सहयोगका चारवटा आयोजनाहरु ९० दिनका लागि रोकिएको छ । यूएसएडले आइतबार पत्र पठाउँदै यूएसएड हेल्थ डाइरेक्ट फाइनान्सिङ, यूएसएड एग्रीकल्चर डाइरेक्ट फाइनान्सिङ, यूएसएड एजुकेशन डाइरेक्ट फाइनान्सिङ र
यूएसएड इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ आयोजनामा प्राप्त अनुदान सहयोग स्थगित भएको जानकारी गराएको थियो ।
अर्थ मन्त्रालयले यस विषयमा सम्बद्ध निकायलाई सचेत गराउँदै स्थगित परियोजनाहरूमा कुनै वित्तीय दायित्व सिर्जना नगर्न आग्रह गरेको छ । अमेरिकामा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल शुरु गरेलगत्तै विश्वव्यापी रुपमा अमेरिकी लगानी तथा सहयोग कार्यक्रममा समीक्षा गर्ने भन्दै ९० दिनका लागि ती सबै कार्यक्रम स्थगित गर्न आदेश दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्