१९ फाल्गुन २०८१, सोमबार | Tue Mar 4 2025


हमासले रिहा गर्ने सुचीमा रहेका ३३ मध्ये ८ को मृत्यु


13.416k
Shares

एजेन्सी । इजरायलले हमाससँगको युद्धविरामको सम्झौता अनुरुप रिहा गर्ने ३३ जना बन्धकको सूचीमा रहेका ८ जनाको मृत्यु भइसकेको बताएको छ ।

इजरायलका सरकारी प्रवक्ता डेभिड मेन्सरले पत्रकार सम्मेलन गरी हमासले रिहा गर्ने सुचीमा रहेका ३३ जना मध्ये २५ जना जीवित रहेको र ८ जनाको मृत्यु भएको जानकारी दिएका छन् । हमासले इजरायललाई मृत्यु भएका भनिएका ८ जनाको नाम उपलब्ध गराउँदा इजरायलले भने उनीहरुको नाम सार्वजनिक गरेको छैन ।

यसैबीच इजरायलले मृत्यु भएका ८ जनाको परिवारलाई जानकारी गराइसकेको छ । सोही क्रममा परिवारजनमा रुवाबासी चलेको छ । हमासले रिहा गर्ने सुचीमा आफना सन्तान नरहँदा रिहाइका प्रतिक्षामा रहेकाहरु मृत्युको खबरले मर्माहत भएका छन् ।

हमासले आगामी बिहीबार र शनिबार गरी ६ जना बन्दी रिहा गर्ने प्रष्ट पारेको छ । हमासको साथमा अझै ९० जना बन्दीहरू रहेको र तीमध्ये ३५ को मृत्यु भइसकेको इजरायलले जनाएको छ । महिनौंको वार्तापछि जनवरीको शुरुमा घोषणा गरिएको इजरायल–हमास द्वन्द्वमा युद्धविराम सम्झौता जनवरी १९ मा लागु भएको थियो ।

सम्झौताको पहिलो चरणअन्तर्गत इजरायलले बन्दी बनाएका १९ सयभन्दा बढी प्यालेस्टिनीहरूको बदलामा गाजामा बन्दी बनाइएका ३३ जनालाई रिहा गरिने जनाएको थियो ।