
काठमाडौं । नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले यहुदीहरुको हत्या गरिएको होलोकास्ट जस्तो घटना अब हुँदैन भन्ने विषयमा युवालाई आश्वस्त पार्न सक्नुपर्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय प्रलय स्मरण दिवस अर्थात इन्टरनेशनल होलोकास्ट डे का अवसरमा एराजदूत बासले उहाँको निवासमा सोमबार भएको एक कार्यक्रममा यस्तो बताउनुभएको हो ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २००५ मा द हलोकास्ट एण्ड द युनाइटेड नेशन्स आउटरिच प्रोग्राममार्फत हरेक वर्ष जनवरी २७ मा हलोकास्ट पीडितहरूको सम्झनामा अन्तर्राष्ट्रिय स्मृति दिवस घोषणा गरेको थियो । त्यसयता हरेक वर्ष यस दिन होलोकास्ट पीडितहरुको सम्झना यो दिवस मनाउने गरिएको छ ।
कार्यक्रममा राजदूत बासले ६० लाख यहुदीहरुको हत्या गरिएको होलोकास्ट जस्तो घटना अब हुँदैन भन्ने विषयमा युवालाई आश्वस्त पार्न सक्नुपर्ने बताउनुभयो । जनवरी २७ असविइच मृत्यु शिविरहरुको मुक्तिको दिन भएको भन्दै उहाँले सम्पूर्ण विश्वले यस दिनलाई प्रलयको स्मरणको दिनको रुपमा मनाउने गरेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सूर्यप्रसाद ढुङ्गेलले नेपालको संक्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन होलोकास्ट पाठ बन्न सक्ने बताउनुभयो । कार्यक्रममा नेपालका लागि अमेरीकी राजदूत डीन आर थम्पसन र काठमाडौंस्थित जर्मन दूतावासका उपप्रमुख बेञ्जामीन सिडेल समेत सहभागी हुनुहुन्थ्यो ।
हलोकास्ट घटनाको फोटो प्रदर्शनीसमेत गरिएको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले हलोकास्ट पीडितको सम्झनामा प्रस्तुति गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्