
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ ।
शहीद दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्नु हुँदै राष्ट्रपति पौडेलले महान् शहीदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आका्रंक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको हो ।
शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले “शहीद दिवस, २०८१ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु” उल्लेख गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले “आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै शहादत हो । यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधिनताका लागि शहादत प्राप्त गरेका शहीदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने प्रेरणा र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु” शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।
यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि शहीद दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान, नागरिक स्वतन्त्रता, जनताको सार्वभौम अधिकार, समावेशिता, समानता, सबैखाले विभेदको अन्त्य, लोकतन्त्रको स्थापना र पहिचानसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात महान् शहीदप्रति स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्