
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘वेल इक्युप्ड मोबाइल फुड ल्याब भ्यान’मार्फत बल्खु तरकारी बजारमा विषादी परीक्षण गरेको छ ।
विभागको दक्ष जनशक्तिमार्फत ९ प्रकारका तरकारी नमूना लिएर विषादी परीक्षण गरेको हो । परीक्षणका क्रममा अधिकांश तरकारी खानयोग्य भेटिएको विभागले जनाएको छ ।
विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बल्खु तरकारी बजारका ९ प्रकारका तरकारी नमूनाहरुको परीक्षणमा २० प्रतिशतसम्म विषादी भेटिएको बताउनुभयो । उहाँले उक्त परीक्षणको नतिजा ठिक रहेको बताउनुभयो । उहाँले परीक्षण गरिएको सबै तरकारी खान मिल्ने रहेको बताउनुभयो ।
सुवेदीले न्युनतम २ प्रतिशतदेखि अधिकत्तम २७ प्रतिशतसम्म ‘इन्जाईम इन्हिभिसन’ पाइएको बताउनुभयो । उहाँले इन्जाईम इन्हिभिसन ३५ प्रतिशतभन्दा कम भएकालाई खान योग्य मानिने बताउनुभयो । उहाँले ३५ देखि ४५ प्रतिशत इन्जाईम इन्हिभिसन भएकोलाई क्वारेन्टाइन होल्ड गरी पुनः परीक्षण गर्ने र ४५ प्रतिशतभन्दा बढी आए अस्वीकृत गरी नष्ट गरिने प्रावधान रहेको बताउनुभयो ।
अनुसन्धान अधिकृत सुवेदीले बल्खु तरकारी बजारमा विभिन्न २० जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक, नुवाकोट, रामेछाप, सर्लाही, धनुषा लगायतबाट आएका तरकारीहरुको नमूना संकलन गरेर परीक्षण गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल सरकारको मापदण्डअनुसार विषादीको अवशेष ३५ देखि ४५ प्रतिशत भेटियो भने होल्ड गर्छौं । त्यो भन्दा बढी भयो भने फाल्नुपर्छ । आज बल्खुमा परीक्षण गर्दा ९ वटा नमूनाको परीक्षण गर्दा बढीमा २० प्रतिशत मात्रै पाएका छौँ । यो रायोको सागमा भेटिएको छ । यो ठिक छ । विषादीजन्य तरकारीको प्रयोगले क्यान्सर जस्ता रोगहरु लाग्ने गर्छ । उपभोक्ताहरुले विषादीबाट बच्नको लागि तरकारी किनेर तीन दिनसम्म होल्ड गर्नुपर्छ । तातोपानीमा नुन राखेर तरकारी डुबाएर मात्रै खान योग्य हुन्छ ।’
सुवेदीले मोबाइल फुड ल्याब भ्यानबाट विभागले उपत्यकाका सबै तरकारी बजारमा जीवनाशक विषादीको परीक्षण गर्ने अभियान चलाइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्