१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


गणपूरक सख्या नपुग्दा पूर्वाधार विकास समितिको बैठक स्थगित


104
Shares

काठमाडौं । गणपूरक संख्या नपुग्दा पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो ।

बुधबार बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा सांसदहरूको गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको समिति सभापति दीपक सिंहले जानकारी दिनुभयो । उहाँले समिति बैठक बस्नको लागि १४ जना सांसद आवश्यक भएपनि १२ जना मात्रै सांसद उपस्थित भएको बताउनुभयो ।

सभापति सिंहले दुई जना नपुगेर १ घण्टासम्म कुरे पनि सांसदहरु उपस्थित नभएकाले बैठक स्थगित भएको बताउनुभयो । उहाँले शहीद दिवस र सार्वजनिक विदा भएकाले सांसदहरु बाहिर जिल्ला जानुपर्ने भएकाले पनि नेपाली कांग्रसका सांसदहरुले बैठक सार्न आग्रह गरे पनि बैठक बोलाई सकेकाले स्थगित गर्न नसकिएको बताउनुभयो । उहाँले बैठकमा नेपाली कांग्रेसका दुई, एमालेका पाँच, माओवादीका एक,राप्रपाका दुई जना,जसपाबाट १ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई जना नै बैठकमा उपस्थित नभएको बताउनुभयो । उहाँले समितिको बैठक आगामी माघ २४ गते विहान साढे ८ बजेका लागि बोलाउने निर्णय भएको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पूर्वाधार समितिमा दुई ठूला जलविद्युत परियोजनाहरु मुगु कर्णाली र किमाथाङ्का अरुण परियोजना निजी क्षेत्रलाई दिने निर्णयका विरुद्ध परेको उजुरीका विषयमा मन्त्रालयको धारणा माग गर्नको लागि मन्त्रीलाई बोलाएको बताउनुभयो । उहाँले समितिमा कोरम पु¥याउँदा पुग्ने अवस्था भएपनि नेपाली कांग्रेसका एक जना पनि सांसदहरु बैठकमा उपस्थित नहुँदा बैठक स्थगित गर्नुपरेको बताउनुभयो ।

सांसद सापकोटाले नेपाली कांग्रेसका सांसद कल्पना चौधरी र राजेन्द्र बजगाइं समितिमा आएर उपस्थित भएर मात्रै फर्किएको बताउनुभयो । उहाँले नेपाली कांग्रेसका सांसदहरु एजेण्डा प्रश्तुत गर्ने समयमा बाहिरी सकिएकाले बैठक अघि बढाउन नसकिएको बताउनुभयो । उहाँले मन्त्रालयले समितिले कोरम पु¥याउन नसकेको देखाउनको लागि कांग्रेसका सांसदहरुलाई उपस्थित नराएको देखिएको आरोप लगाउनुभयो ।

बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयसँग समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूचि थियो । छलफलका लागि ऊर्जामन्त्री दीपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ समितिको सभाकक्षमा पुगेका थिए । तर सांसदहरूको कोरम नपुगेपछि ऊर्जामन्त्री र राज्यमन्त्री फर्किनु परेको थियो ।