
काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने भएका छन् । बिहीवार प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सात दलहरु सहभागी भएको र बैठकले शुक्रवारबाट सञ्चालन हुने संसद अधिवेशनमा जनसरोकारका विषयहरु एकमत भएर उठाउने निर्णय गरेको बताउनुभयो ।
प्रमुख सचेतक पाण्डेले बैठकमा अध्यादेश सरकारले गलत विधि र प्रक्रियामार्फत ल्याएको र यसलाई अस्वीकार गर्ने निर्णय भएको बताउनुभयो । उहाँका अनुसार विपक्षी दलहरुले संसद बोलाउने बेलामा नै अध्यादेश ल्याउनु गलत मनशाय रहेको निस्कर्ष निकालेका छन् ।
प्रमुख सचेतक पाण्डेले भन्नुभयो, ‘सात राजनीतिक दलका नेताहरुको बैठक सम्पन्न भएको छ । यो बैठकले भोलिदेखि शुरु हुने हाम्रो संघीय संसदका अधिवेशनहरुमा व्यवस्थित रुपमा जनताका सरोकारलाई उठाउने बारेमा एकमत भएको छ । अध्यादेशका बारेमा सरकारले जसरी सदनमा ल्याएर सबै कानूनहरु व्यवस्थित तरिकारले अघि बढाउनुको सट्टा सरकारले सदन बोलाउने बेलामा नै जसरी अध्यादेश ल्याएको छ, यो प्रक्रियाको हिसाबले पनि बेठिक छ ।’
प्रमुख सचेतक पाण्डेले सरकार अध्यादेशका माध्यमबाट जानेकुरा बेठिक भएको निस्कर्ष निकालेको बताउनुभयो । सदनलाई सशक्त ढंगबाट जनताका आवाज मुखरित गर्ने ठाउँ बनाउनुपर्ने बताउनुभयो । उहाँले सरकारविरुद्ध आवश्यक परे सडक आन्दोलनको तयारीसमेत गर्ने चेतावनी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्