२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छ : मन्त्री पाण्डे


169
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले ल्याएको अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको बताउनुभएको छ ।

शनिबार बागलुङमा इला कम्फोर्ट होटलको शुभारम्भ गर्दै मन्त्री पाण्डेले निजी क्षेत्रलाई आकर्षित नगरी देश बन्न नसक्ने बताउँदै उहाँले पुँजीपतीहरुलाई गलत भाष्यद्वारा नराम्रो बनाइएको बताउनुभयो । धनी मानिसलाई लगानी गर्नका लागि वातावरण दिनुपर्ने र सरकारले अहिले लगानी सहजताको लागि काम गरिरहेको बताउनुभयो ।

मन्त्री पाण्डेले कांग्रेस र एमाले दुई ठूला एक ठाउँमा आएको बेलामा लगानी ढुक्क भएर गर्न आग्रह गर्नुभयो । अस्थिर राजनीतिका कारण धेरै पछौटेपन भोग्नुपरेकाले मजबुत सहकार्य गरेर अघि बढिरहेको बताउनुभयो । सरकार सुशासनको प्रत्याभुति दिने, राजनीतिक स्थिरता, लगानी भित्र्याउने वातावरण बनाउने दिशामा अघि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद जीवन परियारले अहिले सरकारले ल्याएका अध्यादेशहरु निजी क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी आएको बतउनुभयो । उहाँले उद्यम व्यवसायलाई सरकारले सफल बनाउने गरी अध्यादेश ल्याएको बताउनुभयो ।

बागलुङमा सञ्चालनमा आएको इला कम्फोर्ट होटलमा काली गण्डकी कोरिडोर तथा मध्य पहाडी लोक मार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाहरूका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध हुने आइएमई ग्रुपको भनाइ छ । आइएमई ग्रुपको लगानीमा वागलुङ बजारमा सञ्चालनमा आएको इला कम्फोर्ट लक्जरी होटल करिव ३० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको हो ।

होटलले बागलुङमा स्तरीय आवासको लागि नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको छ । लगभग ४ रोपनी जग्गामा फैलिएको, इला कम्फोर्ट बागलुङमा २७ अतिथि कक्ष, दुई सुन्दर सुइटहरू र एक विशेष पेन्ट हाउस सहित ३० वटा आकर्षक ढंगले डिजाइन गरिएका कोठाहरू छन् ।