६ चैत्र २०८१, बुधबार | Thu Mar 20 2025


जलवायु परिवर्तनको मुद्दा विद्यालयको अनिवार्य शिक्षाका रुपमा लागू गर्नुपर्छ : वनमन्त्री ठकुरी


221
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको मुद्दालाई पाठ्यक्रममा समावेश गरेर लैजाने प्रतिवद्धता जनाउनुभएको छ ।

शनिबार काठमाडौंमा न्युज एजेन्सी नेपालले आयोजना गरेको जलवायु परिवर्तनमा युवाका भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै वनमन्त्री ठकुरीले यस्तो बताउनुभएको हो ।

वनमन्त्री ठकुरीले जलवायु परिवर्तनका मुद्दालाई विद्यालयको अनिवार्य शिक्षाका रुपमा पनि लागू गर्दै लैजानुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो.। जलवायु परिवर्तनसम्बन्धी मुद्दाको बारेमा जानकारी दिन सरकारले पाठ्यक्रममा समेट्ने प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभयो ।

वनमन्त्री ठकुरीले जलवायु परिवर्तनका मुद्दाहरु वन तथा वातावरण मन्त्रालयले मात्रै बोकेर नसक्ने भन्दै तल्लो स्तरबाटै स्थापित गर्दै र जनचेतना फैल्याउँदै लैजान जरुरी रहेको बताउनुभयो । उहाँले सरकार युवाका मुद्दाहरुलाई गम्भीरताका साथ लिएर युवाहरुले उठाएका आवाजहरुलाई कार्यान्वयन गर्न अघि बढिरहेको बताउनुभयो ।

वनमन्त्री ठकुरीले निकट भविष्यमै युवा नीति पास गर्ने तयारीमा रहेको जानकारी दिँदै मन्त्री ठकुरीले युवाका आवाज एकीकृत गरेर अगाडि बढ्न नेपाल सरकार तत्पर रहेको बताउनुभयो । उहाँले आगामी वर्षको बजेटमा जलवायु परिवर्तनको मुद्दामा युवाको सहभागिता र सक्रियतालाई अक्र बढी स्थान दिन प्रयास र पहल गर्ने दाबी गर्नुभयो ।

कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले जलवायु परिवर्तनको मुद्दा पर्यावरणको मुद्दा मात्र नभइ सशक्तिकरणको मुद्दा पनि भएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनले राजनीतिक, आर्थिक, सामाजिक, पहिचान, सांस्कृतिक लगायतका बहुविषयहरुमा सरोकार बताउनुभयो । उहाँले भविष्यको पुस्तालाई जलवायु परिवर्तनका मुद्दाका बारेमा जानकारी दिने उद्देश्यले मुद्दाबारे बहस र छलफल जरुरी रहेको बताउनुभयो । जलवायु परिवर्तनको मुद्दा जलवायु सम्मेलन (कोप)का लागि नभइ आफ्नो जीवनसँग जोडेर हेर्न जरुरुी रहेको बताउनुभयो ।