१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता


0
Shares

कैलाली । क्रिकेटको शहर धनगढीमा शनिबारदेखि शुरु भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिवाईसी अत्तरिया र डिसिए धनगढी विजयी भएका छन् ।

गो ड्रिर्मसको आयोजनामा भइरहेको प्रतियोगिताको दोस्रो दिन भएको खेलमा दशरथ चन्द एकेडेमी बैतडीलाई २६ रनले हराउँदै सिवाईसी अत्तरियाले विजयी सुरुवात गरेको हो ।

धनगढीस्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै सिवाईसीले निर्धारित २० ओभरमा ३ विकेट क्षतिमा एक सय ६४ रन बनायो । अत्तरियाका लागि कप्तान भीम सार्कीले अर्धशतक बनाए । ३३ बलको सामना गर्दै उनले ७० रन बनाए ।

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा डिसिए धनगढीले पहिलो जित दर्ता गरेको छ । पहिलो खेलमा डडेल्धुरासँग पराजित भएको डिसिए धनगढीले घोडाघोडी–११ लाई ६९ रनले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गर्दै डिसिए धनगढीले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा एक सय ४९ रन बनायो ।

प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुनेछन् । पहिलो खेलमा फेण्ड्स क्लब डडेल्धुरा र बोष्टन क्रिकेट झापा प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा सिवाईसी अत्तरिया र क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौं प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागिता रहेको छ ।

दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा आयोजना भइरहेको प्रतियोगिताको समुह ए मा डिसिए धनगढी, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा रहेका छन् ।

यस्तै समुह बी मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं, न्यु होराईजन बुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।