२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिएका छौँ : उपप्रधानमन्त्री सिंह


169
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर निजी विद्यालयको भन्दा कमजोर नरहेको बताउनुभएको छ ।

सोमवार पद्यकन्या विद्याश्रम माध्यामिक विद्यालयको ७७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले आफूले काठमाडौं निर्वाचन क्षेत्र नं.१ को नेतृत्व गरेदेखि नै सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिँदै आएको बताउनुभयो ।

अहिले पनि संघ, प्रदेश र स्थानीय सरकार मिलेर समुदायिक विद्यालयको भौतिक संरचना र गुणस्तर वृद्धिमा जोड दिइरहेको बताउनुभयो । सामुदायिक विद्यालयहरु गुणस्तरीय शिक्षा दिनुका साथै अतिरिक्त क्रियाकलापमा पनि निजी क्षेत्रभन्दा कमजोर नरहेको बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘संघ, प्रदेश र स्थानीय सरकार मिलेर सामुदायिक विद्यालयको पूर्वाधार निर्माण गर्न सक्दो काम गरेका छौँ । शैक्षिक स्तरमा यो क्षेत्रका सामुदायिक विद्यालयको पनि निजीको भन्दा कम छैन । हाम्रो निर्वाचन क्षेत्रमा त सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर पनि निजीको भन्दा केही कमी छैन । ’

उपप्रधानमन्त्री सिंहले विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्नेकुरामा सामुदायिक विद्यालयको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।