
काठमाडौं । विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीहरुलाई आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ दिँदैछ ।
यो खोप अभियान आज मंगलबारदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । यस अभियानमा १६ लाख ८८ हजार ७६८ जना किशोरीलाई खोप दिइने सरकारको लक्ष्य छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।
महिलाहरूमा हुने क्यान्सरमध्ये नेपालमा पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेको छ । यसको जोखिमबाट बचाउने उद्देश्यले मुलुकभर एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिन लागिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । उहाँले सबैलाई आआफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गर्नुभयो ।
खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने छ भने
२७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुनेछन् । यस्तै ५४ हजार १६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार ६७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् ।
पाठेघरको मुखको क्यान्सरबाट बच्न शुरुकै अवस्थामा निदान भएर उपचार गर्न सकेमा यो रोगबाट बच्न सकिने चिकित्सक बताउँछन् । हरेक वर्ष एक हजार ३१३ महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।
एचपीभी खोप लगाउँदा यसले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्