
काठमाडौं । पछिल्ला तीन दिन लगातार बढेको शेयर बजारमा मंगलबार करेक्सन आएको छ ।
तीन दिनमा ९६ अंक बढीले बढेको बजार मंगलबार १४ अंकले घटेर नेप्से २७१५ दशमलव ९१ विन्दुमा झरेको छ ।
नेप्से घटेसंगै कारोबार रकम पनि खुम्चिएको छ । मंगलबार ३१५ वटा स्टकको एक करोड ६९ लाख १७ हजार कित्ता शेयर ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार रुपैयाँ बराबरमा कारोबार भएको छ । सोमबारको तुलनामा कारोबार रकम झण्डै तीन अर्बले घटेको हो । घटेको बजार पनि जोशी हाइड्रोपावरको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
यस्तै सामुदायिक लघुवित्त, मध्य भोटेकोशी जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर, उपकार लघुवित्त र कालिका पावरको शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ । तर कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये जलविद्युत र अन्य उपसमूहको परिसूचक सामान्य बढे बाहेक ११ वटा उपसमूहको परिसूचक घटेका छन् । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव ६० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक ३० करोड ८७ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्