२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


त्रिदेशीय महिला टि- ट्वान्टी क्रिकेटमा नेपालको लगातार चौथो हार


0
Shares

काठमाडौं । त्रिकोणात्मक महिला टि- ट्वान्टी क्रिकेट श्रृंखलामा नेपालले लगातार चौथो हार व्यहोरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो ।

मंगलबारको हारसँगै नेपालको उपाधी दाबी समाप्त भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक २६ रन बनाइन् । कविता जोशीले २४ रन जोड्दा रोमा थापा रनमा १९ रनमा नट आउट रहिन् । थाइल्याण्डका लागि थिपचा पुत्थावोंगले ४ तथा फतिन्ना मायाले २ विकेट लिए । थाइल्याण्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन् भने नान्नापत खोन्चरोएन्कले १९ र अफिसारा सुवान्चोनरथीले १७ रन बनाएकी थिइन् ।

नेपालका लागि मनिषा उपाध्यायले ३ तथा पुजा महतो र रचना चौधरीले समान १ विकेट लिएका थिए ।