
काठमाडौं । महान्यायाधीवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको अभियोजनमा त्रुटि गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुईटेलमाथि छानबिन सुरु गरेको छ ।
जिल्ला न्यायाधिवक्ता लुइँटेललाई जिल्ला सरकारी वकिलको कार्यालय चितवनबाट तत्काल महान्याधिवक्ताको कार्यालयमा सरुवा गरेर छानबिन सुरु गरिएको हो । चितवन सरकारी वकिलको कार्यालयले मंगलबार सहारा बचत तथा ऋण सहकारीको रकम अपचलनसम्वन्धी मुद्दामा लामिछानेसहित १५ जनामाथि पूरक अभियोजन दर्ता गरेको थियो । तर उक्त अभियोजनमा लामिछानेलाई ‘संगठित अपराध’ मा छुट दिएर सहकारी ‘ठगी’ को कसुरमा मात्रै अभियोजन दर्ता गरेको भन्दै उनी माथि छनबिन सुरु गरिएको हो । छानबीनका लागि महान्यायाधीवक्ताको कार्यलयले छनबिन समिति समेत गठन गरिसकेको छ ।
नायव महान्यायाधीवक्ता गोपाल प्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । जिल्ला सरकारी वकीलको कार्यलयले रास्वपा सभापति लामिछाने विरुद्ध सहकारी ठगीको मात्रै तथा अन्य १२ जनालाई संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको थियो । सहारा सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख रहेकोमा ५६ करोड २२ लाख ५० हजार बराबरको बिगो कायम गरिएको छ ।
यसैबीच, चितवन जिल्ला अदालतमा रवि लामिछानेलगायतको मुद्धामा सुनुवाई शुरु भएको छ । न्यायाधीश दयाराम ढकालको ईजलाशमा बयानको लिने क्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस्