२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


कपिलवस्तुमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ


0
Shares

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ ।

कृष्णनगर नगरपालिका–२ स्थित भन्सार कार्यालय अगाडि खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा ६१ प ८५५४ नम्बरको पल्सर २२० मोटरसाइकलबाट ८२० मिलिग्राम लागूऔषध ब्राउन सुगर फेला परेको इलाका प्रहरी कार्यालय कृष्णनगर प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनुभयो ।

चेकजाँच गर्दा मोटरसाइकल चालक बिजयनगर गाउँपालिका–४, बरगद्दा निवासी २८ वर्षीय मतिउल्ला मुसलमान र पछाडि सवार बिजयनगर गाउँपालिका–३, कडिहार निवासी २५ वर्षीय मैराज अहमद पक्राउ परेका छन् ।

मतिउल्ला मुसलमानको साथबाट चार पुडिया ब्राउन सुगर, एक थान ब्लेड, मोबाइल बरामद गरिएको छ भने, मैराज अहमदको साथबाट मोबाइल फेला परेको छ । पक्राउ परेका दुवै जनामाथि लागूऔषध ओसारपसारमा संलग्न भएको आशंकामा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।