
काठमाडौं । नेपाली कांग्रेसकी सांसद शान्ति विकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने जोडिमाथिको घटनाबारे गृहमन्त्री रमेश लेखकको जवाफ माग गर्नुभएको छ ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद विकले सत्येन्द्रराम चमार र नेहा रौनियारविरुद्ध भएको भनिएको सरकारी व्यवहारबारे सरकारको जवाफ माग गर्नुभएको हो । उहाँले सत्येन्द्र र नेहको घटनाबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यसबारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद विकले गृहमन्त्री लेखकको विषयमा जोडिएर आएको समाचारप्रति गम्भीर रहेको र वैवाहिक सम्बन्ध र जातिय कुरालाई लिएर गृहमन्त्रीले ठाडो निर्देशन दिने कुराको विश्वास नलागेको बताउनुभयो । भ्रामक समाचार फैल्याएर चरित्रहत्या गर्न खोजिएको बताउनुभयो ।
सांसद विकले सत्येन्द्र र नेहामाथिको बर्बरता ६० लाख दलित समुदायमाथिको चोट भएको बताउनुभयो । अन्तरजातीय विवाह गर्ने जोडिमाथि बर्बरता गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो ।
सभाको बैठकमा बोल्दै नेकपा एमाले सांसद हर्कमाया विश्वकर्माले पनि सत्येन्द्रराम र नेहामाथि राज्यले गरेको व्यवहारको भत्र्सना गर्नुभयो । उहाँले उनीहरुलाई न्याय दिन माग गर्नुभयो । उहाँले यस घटनाले जातीय विभेद मात्र नभइ यसलाई संरक्षण गरेर सरकारले पीडितलाई अन्याय गरेको उल्लेख गर्नुभयो ।
सांसद विश्वकर्माले विवाह दर्तासमेत गरिसकेका जोडीको सम्बन्ध तोड्न राज्यशक्तिको दुरुपयोग गरेर जबरजस्ती छुट्याउन खोज्नु उनीहरुको मानव अधिकार हनन हुनु रहेको बताउनुभयो । यसले नेपालको कुल जनसंख्याको १४ प्रतिशत जनसंख्यामाथि घोर अपमान भएको बताउनुभयो ।
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले पनि सत्येन्द्रराम र नेहामाथि गृहमन्त्रीको आदेशमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अपराध अनुसन्धान कार्याल्यका प्रमुख एसएसपी सानुराम भट्टराईमार्फत उक्त जोडीलाई पक्राउ पूर्जी जारी गरेको आरोप लगाउनुभयो । गितेन्द्रबहादुर (जिवी)राई जस्ता मान्छेलाई पक्रन नसकेको भन्दै सरकारको आलोचना समेत गर्नुभयो । उहाँले निरीह दम्पतीलाई पक्रिएर सरकारले बहादुरी देखाएको उहाँको टिप्पणी थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले राज्यमा सबै नागरिकको उत्तिकै अस्तित्व र आत्मसम्मान रहेको बताउनुभयो । उहाँले आफूलाई सरकार हात्तीको दाँत जस्तै लागेको भन्दै देखाउने र चपाउने अर्को अर्को भएको महशुस गरेको बताउनुभयो । उहाँले सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको भएपनि व्यवहार अर्को भएको बताउनुभयो । विवाह दर्ता भइसकेको सम्बन्धलाई जबरजस्ती तोड्न गृहमन्त्रीकै निर्देशनमा राज्यशक्ति लागेको भन्दै आपत्ति जनाउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिषा नेपालीले अन्तरजातीय विवाहसम्बन्धी सर्लाही घटनामा गृहमन्त्री र प्रहरी महानिरीक्षककै संलग्नता रहेको समाचार आइरहेको भन्दै आपत्ति जनाउनुभयो । उमेर पुगेका युवा युवतीहरुले मन मिलेपछि स्वतन्त्रतापूर्वक विवाह गर्न पाउने अधिकार रहेको बताउनुभयो । उनीहरको सम्बन्ध तोड्न राज्य शक्ति नै लाग्नुपर्ने किन ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले सरकारको सिंहासन र बर्दीको दुरुपयोग गरिएको बताउनुभयो । बैठकमा आकस्मिक समयमा बोल्ने सांसदहरुले अन्तरजातीय विवाह भइसकेको र वैध ठहरिसकेको जोडीलाई सरकारले अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्