२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रिय सभामा दुई विधेयक पेस


2.496k
Shares

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ र ‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ पेस गरिएको छ ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पेश गर्नुभएको हो ।

त्यस्तै, पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पेश गर्नुभयो । विधेयक पेश गर्दै शिक्षामन्त्री भट्टराईले वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्यायिक परिक्षण्मा सहयोग पु¥याउन तथा विधि विज्ञानको सम्बन्धमा अनुसन्धान र परीक्षणलाई विशिष्टिकृत बनाउनका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र संचालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले प्रयोगशालाको स्थापना तथा काम कर्तव्य र अधिकारका लागि कार्यकारी निर्देशक तथा कर्मचारीसम्बन्धी व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा परीक्षण तथा डिएनए डाटा बैंकको स्थापना सहितका व्यवस्था प्रश्तुत विधेयकमा प्रश्तावना गरिएको समेत बताउनुभयो ।

पानी जहाज सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कयौं नेपाली नागरिक पानी जहाज कम्पनीहरुमा काम गर्दै आएको उल्लेख गर्दै ति कामदारहरुको तल र स्वास्थ्य परीक्षण समेट्न विधेयक ल्याइएको बताउनुभयो ।

नेपालभित्रकै विभिन्न नदि तथा तालहरुमा विभिन्न क्षमताका जलयानहरु सञ्चालनमा आइरहेको उल्लेख गर्दै ति जलयानहरुको व्यवस्थापन र नियमन गर्ने प्रश्ताव विधेयकमा राखिएको बताउनुभयो ।