१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रचण्डले एक दलीय व्यवस्थाको लागि युद्ध लडेका हुन् : सांसद महत


871
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू भन्दा बाहिर प्रधानमन्त्रीको पद नजाने भ्रम पाल्दा कांग्रेस र एमाले मिल्नुपरेको बताउनुभएको छ ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद महतले कांग्रेस र एमाले कुनैसँग पनि सहकार्य गर्दा आफू नै प्रधानमन्त्री भइने मानसिकतामा अध्यक्ष दाहाल रहेको बताउनुभएको हो । त्यसलाई अहिले चिरिएको बताउनुभयो ।

सांसद महतले त्यो परिस्थिति समाप्त भएपछिको अवस्थाबाट अभिप्रेरित भएर दाहालले आफ्ना भनाइ राख्नुभएको बताउनुभयो । उहाँले अध्यक्ष दाहालले मन्त्रीपरिषद्बाटै पारित भएको कार्यविधि लत्याएर तीन करोड भन्दा तल कुनैपनि संघीय आयोजना नराख्ने मन्त्रिपरिषद्को निर्णय उल्ट्याएको बताउनुभयो ।

सांसद महतले वर्तमान सरकारले सोही बजेटमाथि काम गरेर अघि बढ्नुपर्ने अवस्था भएकाले आर्थिक अवस्था दुरुस्त गर्न समस्या आइरहेको बताउनुभयो । उहाँले राजनैतिक परिवर्तनको सम्पूर्ण श्रेय अध्यक्ष दाहालले लिएको र अध्यक्ष दाहालले एक दलीय व्यवस्था चाहेको बताउनुभयो । एक दलीय व्यवस्था स्थापित गर्ने मनशायले अध्यक्ष दाहालले युद्ध लडेको बताउनुभयो ।

सांसद महतले बहुदलीय प्रतिष्पर्धात्मक व्यवस्थामा आएको कुरा नभुल्न आग्रह गर्नुभयो ।