२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


प्रधानमन्त्री ओलीद्वारा सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भर्चुअल छलफल


1.664k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग शुक्रबार भर्चुअल छलफल गर्नुभएको छ ।.

प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट ओलीले मुख्यमन्त्रीहरुसँग सेवा प्रवाह, सुशासन, विकास निर्माणका आयोजनाहरुको प्रगति तथा चुनौति र संघीय सरकारले गर्नुपर्ने सहजीकरणलगायतका विषयमा छलफल गर्नुभएको हो ।

करिब साढे दुई घण्टा चलेको छलफलमा मुख्यमन्त्रीहरुका कुरा सुनेपछि ओलीले एक्ला–एक्लै पनि छलफल गर्नुपर्ने आवश्यकता देखिएको बताउनु भएको थियो । मुख्यमन्त्रीहरुले सुनाएका समस्यालाई प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेट निर्माणमा थप छलफल गर्ने भन्दै टार्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षामा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तिर्ण हुने अवस्था सुधार्न आफूले केही युवाहरूको सहयोगमा अनलाइन माध्यमबाट मुख्य विषयहरूमा अतिरिक्त कक्षा सञ्चालनको आरम्भ गराएको र त्यसमा ५७ हजार विद्यार्थी सहभागी भएको दाबी पनि मूख्यमन्त्रीहरुसंग गर्नुभयो ।

आगामी वर्षदेखि सोही खालको पहल गर्न पनि उहाँले मूख्यमन्त्रीहरुलाई सुझाव दिनुभयो । छलफलमा मुख्यमन्त्रीहरूले विकास निर्माणका काममा भएको भौतिक र वित्तीय प्रगति, समस्या र समाधानका विषयमा प्रधानमन्त्री ओलीलाई सुनाएका थिए ।

बहुवर्षीय ठेक्का लागेका आयोजनाहरुको बजेट निरन्तरता, अनुदान रकममा वृद्धि, आयोजना सञ्चालनका लागि रुख कटान र जग्गा प्राप्तिमा सहज, विपद् व्यवस्थापनमा थप बजेट, जनशक्ति व्यवस्थापन, गण्डकीलाई पर्यटनको केन्द्र बनाउनुपर्ने, सडकहरुको विस्तार छिटो सम्पन्न गर्नुपर्ने, पूर्व–पश्चिम रेलमार्गको मुअब्जा विवादलगायतका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।

छलफलमा सहभागी मुख्यसचिव एकनारायण अर्यालले मुख्यमन्त्रीहरूले उठाएका विषय मन्त्रिपरिषद्को बैठक र सचिवहरूको बैठकमा पनि छलफल गराउने बताउनु भएको थियो ।