२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्थानीयहरु पाथीभरा केबलकार बनाउनुपर्छ भन्नेमा छन् : अध्यक्ष ढकाल


3.614k
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरुको साथ रहेको बताउनुभएको छ ।

शनिबार पाथीभरा देवी दर्शन केबलकार प्रालिको तर्फबाट काठमाडौंमा पत्रकार सम्मलेन गर्दै अध्यक्ष ढकालले तीन सय जनासँग गरेको सार्वजनिक सुनुवाईमा स्थानीयको प्रतिनिधित्व गर्दै बोल्ने २५ जनामध्ये दुई जनाले मात्रै असहमति जनाएको बताउनुभयो । उहाँले ताप्लेजुङवासीको अधिकांशको मत केबलकार बनाउनुपर्छ भन्नेमै रहेको बताउनुभयो ।

अध्यक्ष ढकालले ताप्लेजुङ भन्दा बाहिरका र विदेशमा बस्नेहरुले त्यहाँको विकासको उपयोग गर्ने तर नेपालमा हुन लागेको विकासको विरोध गरिरहेको बताउनुभयो । ताप्लेजुङमा केबलकार बनेसँगै आर्थिक गतिविधि चलायमान हुने, रोजगारी सिर्जना हुनेकुरा महत्वपूर्ण रहेको बताउनुभयो ।

ताप्लेजुङवासीलाई त्यहीँ रोजगारी दिने उद्देश्यका साथ केबलकार बनाउन लागिएको बताउनुभयो । उहाँले केबलकार बनेसँगै ताप्लेजुङको विकास र समृद्धिमा नै सहयोग पुग्ने बताउनुभयो । उहाँले पाथीभरा देवी केबलकार निर्माण भएसँगै तीन सय रोजगारी थपिने र जसमा ८० प्रतिशत ताप्लेजुङवासीले नै रोजगारीको अवसर पाउने उल्लेख गर्नुभयो । ताप्लेजुङवासीले पाउने अवसरमा खेलवाड गर्न बाहिर बस्ने नेपालीहरु लागिरहेको बताउनुभयो ।

अध्यक्ष ढकालले पाथीभरमा केबलकारसम्बन्धी संरचना गलत हिसावले नबनाइएको पनि स्पष्ट पार्नुभयो । उहाँले पाथीभरा देवी दर्शन केबलकार प्रा।लि।ले बनाउने सबै संरचना प्रकृतिमैत्री हुने दाबी गर्नुभयो । उहाँले पाँचतारे होटल नभएर सामान्य स्तरको पूर्वाधार मात्रै बनाउन लागेको उल्लेख गर्दै अक्सिजनलगायतको स्वास्थ्यकेन्द्र, शौचालय र तातो र चिसो पानीको व्यवस्थाका लागि सामान्य संरचना बनाइने उल्लेख गर्नुभयो ।

मन्दिरको भेटी केबलकारले उठाउँछ भन्ने गलत कुराको प्रचार गरिएको र भेटीसँग केबलकारको कुनै सरोकार नरहेको जिकिर गर्नुभयो । केबलकारले कुनैपनि हिसावमा धार्मिक आस्था खल्बल्याउने काम नगर्ने बताउनुभयो ।

अध्यक्ष ढकालले सांस्कृतिक सम्पदाको संरक्षण र जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनका लागि केबलकार बनाउन लागेको बताउनुभयो । नेपालमा आउने पर्यटकहरुलाई भएका सम्पदाहरु अवलोकन गराउने वातावरण बनाउन खोजेको बताउनुभयो । केबलकारले पाथीभरको धार्मिक आस्थामाथि प्रहार नगर्ने स्पष्ट पार्नुभयो ।

पाथीभराप्रतिको आस्थालाई थस साथ दिन र सबै नेपालीलाई सहज हिसावमा लैजाने व्यवस्थाका लागि मात्रै केबलकार बनाउन लागिएको बताउनुभयो । पाथीभरा केबलकारको लागत अनुमान करिव तीन अर्बको रहेको जानकारी दिनुभयो । उहाँले एक वर्षभित्रमा पाथीभरा केबलकार निर्माण गरी मन्दिरको दर्शन गराइने बताउनुभयो ।