१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रकाशराज पाण्डेले गरे दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण


247
Shares

काठमाडौं । नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले विश्वका सातवटै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानअन्तर्गत उनले दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण गरेका छन् ।

अर्जेन्टिनास्थित माउन्ट अकोन्कागुआको गत बिहीबार (फेब्रुअरी ६ तारिख) सफलतापूर्वक आरोहण गरेको पाण्डेले आज जानकारी गराएका छन् । त्यहाँबाट उनले आरोहण गरेको प्रमाणपत्रसमेत प्राप्त गरिसकेका छन् ।

आरोही पाण्डेले अकोन्कागुआको शिखरमा स्थानीय समय बिहीबार बिहान ७.५० बजे चन्द्रसूर्य अङ्कित नेपाली राष्ट्रिय झन्डा फहराएका थिए । उक्त चुचुरो छ हजार नौ सय ६१ मिटर अग्लो छ । उनले आगामी बुधबारसम्ममा नेपाल आइपुग्ने बताएका छन् ।

सातै महादेशका उच्च शिखरहरुको आरोहण गर्ने अभियानअन्तर्गत पाण्डे प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय झन्डा लिएर जनवरी २१ मा अर्जेन्टिनाको ब्युनस आयर्सतर्फ प्रस्थान गरेका हुन् ।

पर्वतारोहणको क्षेत्रमा विशेष मानिने सेभन समिट अभियानमा उनको यो चौथो हिमाल आरोहण हो भने समग्रमा उनको यो ११औँ आरोहण भएको पनि पाण्डेले बताए । सन् २०२२ देखि उनी यस अभियानमा लागेका छन् । अभियानमा उनीसँग कीर्तिमानी पर्वतारोही चतुर तामाङ पनि छन् ।

आरोही पाण्डेले यसअघि आरोही तामाङसँगै रुसमा रहेको सर्वोच्च युरोपेली हिमाल माउन्ट एलब्रुस, तान्जानियामा रहेको अफ्रिकी महादेशको उच्च हिमशिखर किलिमन्जरोको पनि सफल आरोहण गरिसकेका छन् । उनले स्वदेशमा रहेको मनास्लु हिमाल र आमादब्लम हिमालको पनि सफल आरोहण गरिसकेका छन् ।

हिमाल आरोहण अभियानकै क्रममा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने उनले बताएका छन् । जलवायु परिवर्तनका कारणले नेपालसहित जैविक विविधिता युक्त तथा विशिष्ट भौगोलिक अवस्थिति भएका मुलुकले अनपेक्षित क्षति र समस्याहरू व्यहोर्नु परिरहेको उनले उल्लेख गरे ।

सेभेन समिट अभियानमा अब उत्तर अमेरिकी महादेशको हिमाल आरोहण गर्ने लक्ष्य रहेको बताउँदै पाण्डेले भने, “संयुक्त राज्य अमेरिकामा रहेको डेनाली हिमालको आरोहण मेरो लक्ष्य हो ।”

पहिलोपटक सन् २०१८ मा सगरमाथा चढेका पाण्डेले अन्य महादेश तथा क्षेत्रका हिमालहरू आरोहण गरि नेपालमा आएर सगरमाथामा सेभेन समिट अभियानको समापन गर्ने योजना रहेको पनि उनले बताएका छन् ।