
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानून निर्माणको दृष्टिकोण नै त्रुटीपूर्ण रहेको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले राज्यका सञ्चालकहरुले अधिकारको दुरुपयोग गर्ने र नियन्त्रणमुखी सोच राखेर कानून निर्माण गर्ने गरेको बताउनुभयो । कानून निर्माण सेवा प्रवाहलाई प्रभावकारी बनाउन, सुशासन कायम गर्न, विकास निर्माणको कामलाई गति दिनका लागि कानून बनाउनुपर्नेमा नियन्त्रणकारी कानूनहरु धेरै भएको बताउनुभयो ।
महासचिव पोखरेलले एउटा मन्त्रालय र अर्को मन्त्रालयले बनाएका कानूनमा एउटा काममा अर्कोलाई अवरोध सिर्जना गर्ने प्रवृत्ति धेरै हुँदा विकास प्रक्रिया र सुशासन कमजोर बनेको बताउनुभयो । नागरिक बलियो हुन राज्यलाई बलियो बनाउनुपर्ने र राज्य बलियो बनाउने हो भने लोकतन्त्रमा राजनीतिक दलहरु बलियो बनाउनुपर्ने बताउनुभयो ।
महासचिव पोखरेलले कसैले कसैप्रति कटाक्ष गरिकन समाज अगाडि बढ्न नसक्ने बताउनुभयो । समाजका सबै अंगहरु सम्मानित र प्रतिष्ठित भयो भने राज्य बलियो हुने बताउनुभयो ।
महासचिव पोखरेलले थ्रेस होल्ड पाँच प्रतिशत राख्ने कुराले नयाँ पार्टी निर्माणका सन्दर्भमा समस्या उत्पन्न नहुने बताउनुभयो । नयाँ पार्टीका लागि पाँच प्रतिशत जमानत प्राप्त गर्न पूर्व गृहकार्य गर्न कुनै व्यवस्थाले नरोको बताउनुभयो । पाँच प्रतिशतको थ्रेस होल्डले राजनीतिमा आउन खोज्ने नयाँ विचार र प्रवृत्तिलाई निषेध नगर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्