२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्‍याउन सकिँदैन : राष्ट्रपति पौडेल


182
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्‍याउन नसकिने बताउनुभएको छ ।

सोमवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नागरिकको जीवनस्तरमा गुणात्मक सुधार गरी जनताको विकास र सुशासनप्रतिको उच्च आकांक्षालाई पूरा गर्दै देशको हित, कल्याण र अन्तर्राष्ट्रिय छविको लागि सदाचार, निष्पक्षता, पारदर्शिता, एवं निर्भिकतालाई मुल मन्त्र बनाएर काम गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले नीति, पद्धति, विधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन, सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । सत्ता, शक्तिको अनावश्यक मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ प्रवेश गराउने बताउनुभयो ।

राष्ट्रपति पौडेलले सरकारी ढुकुटी र बजेट कार्यक्रमको दुरुपयोग सम्बन्धी विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र सधैँ चनाखो रहनुपर्ने बताउनुभयो । कानूनी राज्यको स्थापना र सुशासनको पत्याभुति गराउनु राज्यको प्रमुख दायित्व भएको भन्दै आयोगले भ्रष्टाचारका प्रमुख जोखिमका बारेमा सार्वजनिक निकाय र पदाधिकारीलाई बोध गराइ यसको नियन्त्रणमा अग्रणी भुमिका निर्वाह गर्न जरुरी रहेको बताउनुभयो ।

ठूला प्रकृतिका सार्वजनिक खरिदका विषयमा विसंगति देखिएको भनेर चिन्ता व्यक्त भइरहेको भन्दै यसमा राज्य र अख्तियार गम्भीर बन्नुपर्ने बताउनुभयो । भ्रष्टाचारसम्बन्धी विधेयकहरु लामो समयसम्म किनारा नलाग्दा पनि समस्या आएको गुनासो आइरहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पु¥याउन सकिँदैन । नागरिकको जीवनस्तरमा गुणात्मक सुधार गरी जनताको विकास र सुशासनप्रतिको उच्च आकंक्षालाई पूरा गर्दै देशको हित, कल्याण र अन्तर्राष्ट्रिय छविको लागि सदाचार, निष्पक्षता, पारदर्शिता, एवं निर्भिकतालाई मुल मन्त्र बनाएर काम गर्नुपर्छ । यसमा नीति, पद्धति, विधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन, सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता हो । सत्ता, शक्तिको अनावश्यक मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ प्रवेश गराउँछ ।’

राष्ट्रपति पौडेलले सूचना र प्रविधिको तिब्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमा समेत जटिलता थपिएको बताउनुभयो । भ्रष्टाचारको प्रकृति र स्वरुप परिवर्तन भइरहेको भन्दै त्यसैअनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्वन गर्न आवश्यक रहेको बताउनुभयो । —न्युज एजेन्सी नेपाल