
एजेन्सी । प्यालस्टिनी विद्रोही समुह हमासले इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत बाँकी बन्धक रिहाइ हाललाई स्थगित गरेको छ ।
हमासका प्रवक्ता अबु ओबेदाले इजरायलले युद्धविराम सम्झौता उलंघन गरेको आरोप लगाउँदै बन्धक रिहाइ तत्कालका लागि स्थगित गरिएको जनाएका हुन् ।
प्रवक्ता ओबेदाले इजरायलले आफ्नो दायित्व पूरा नगरेसम्म रिहाइ प्रक्रिया अघि नबढ्ने स्पष्ट पारेका छन् । युद्धविरामको सम्झौताअन्तर्गत विस्थापित प्यालेस्टिनीहरूलाई फर्काउन ढिलाइ गर्नु, सर्वसाधारणमाथि गोली चलाउनु र गाजामा मानवीय सहायतालाई अनुमति दिन असफल भएको भन्दै इजरायलले सम्झौता भंग गरेको आरोप हमासको छ ।
यद्दपी हमासले अझै पनि इजरायलले लचकता अपनाएको खण्डमा सम्झौताबारे विचार गर्न सकिने पनि जनाएको छ । इजरायलका रक्षामन्त्री इजरेल काट्जले हमासको यो घोषणालाई युद्धविराम सम्झौताको पूर्ण उल्लंघन भन्नुभएको छ । साथै उहाँले इजरायली रक्षा बल आइडिएफलाई सतर्क रहन निर्देशन समेत दिनुभएको छ ।
हमासले यही शनिबार तीन जना बन्धक रिहा गर्ने घोषणा गरिसकेको अवस्थामा यी दुई समुहबीचको टकरावले बन्धक रिहाइ प्रक्रिया ढिलो हुने संकेत देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्