२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


८ वटा संसदीय समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज एकै पटक ८ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता माननीय सदस्यहरुसँग छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बैठकमा माउण्ट एभरेष्ट ब्रुअरी प्रा.लि. मा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयका सम्बन्धमा छलफल हुनेछ ।

त्यसैगरि बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठकमा समितिको आगामी अनुगमन भ्रमण तथा कार्यक्रम सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

त्यस्तै साढे १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा मस्यौदा प्रतिवेदनउपर छलफल हुँदैछ ।

त्यस्तै बिहान साढे ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठकमा विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पहरुका बारेमा छलफल हुनेछ ।