२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चार देशीय अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य


0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले गत साफको प्रदर्शन र राम्रो तयारी भएकाले घरेलु मैदानमा आगामी हप्तादेखि शुरु हुने च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताउनुभएको छ ।

आगामी फागुन ५ गतेदेखि दशरथ रंगशालामा नेपालले लेबनान, म्यानमार र किर्गिस्तान सम्मिलित चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा खेल्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत माघ २० गतेदेखि ३९ जना प्रारम्भिक टोली घोषणा गर्दै प्रशिक्षण शुरु गरेको थियो । प्रशिक्षक तामाङले हाल ३० जना टोली छनोट गर्दै प्रशिक्षण गराइरहनुभएको छ ।

प्रशिक्षक तामाङले साँझ फ्लड लाइट र बिहान टर्पmमा प्रशिक्षण गरिरहेको उल्लेख गर्दै सबै खेलाडी फिट रहेको बताउनुभयो । उहाँले गत साफको प्रदर्शनले खेलाडी उत्साहित रहेकाले जित्ने लक्ष्यसहित तयारी गरिरहेको विश्वास व्यक्त गर्नुभयो ।

घरेलु लिग टर्पm खेलिरहेको र यो प्रतियोगिता घाँसे मैदानमा खेल्दा केही फरक पर्नसक्ने भएपनि आफ्ना खेलाडी अभ्यस्त हुने प्रशिक्षक तामाङको विश्वास छ । घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता भइरहँदा उपाधि घरमा नै राख्ने चाहने हुने भएपनि खेलमा यसै हुन्छ भन्न नसकिने र त्यसमा पनि म्यानमार धेरै राम्रो टोली रहेको उहाँले उल्लेख गर्नुभयो ।

म्यानमारले आफूभन्दा बलिया र फिफा वरीयतामा मथिल्ला टोलीसँग खेलिरहेकाले बलियो रहेको तामाङ बताउनुहुन्छ । यद्यपि आफ्नो टोलीले पनि त्यहीअनुरूप तयारी गरिरहेको उहाँको भनाइ छ ।

मिडफिल्डर दीपा शाही र डिफेन्डर हीराकुमारी भुजेल नेपाली महिला टोलीको महत्वपूर्ण खेलाडी हुन् । उनीहरू गत महिला साफ च्याम्पियनसिपका दौरान नै चोटका कारण मैदान बाहिर छन् । अहिले दुवै जना रिकभर भइसकेका छैनन् । प्रशिक्षक तामाङले उनीहरू धेरै उत्कृष्ट खेलाडी रहेकाले अभाव खड्किने उल्लेख गर्दै उनीहरूको स्थानमा विकल्प खोजिएको बताउनुभयो । नयाँ खेलाडी अनुभवी नभए पनि क्षमतावान रहेको प्रशिक्षक तामाङको विश्वास छ ।

समग्रमा आफ्नो टोली राम्रो रहेको र खेलाडी पनि आपैmँ उत्साहित रहेको उहाँको छ । टोलीको अग्रपंक्तिमा खेल्ने दुई खेलाडी रेखा पौडेल र सावित्रा भण्डारी खेलको केही दिनअगाडि आउने भएकाले टिम कम्बिनेसनमा केही समस्या हुनसक्ने उहाँको भनाइ छ । यद्यपि, पछिल्ला खेलका रिभ्यु गरेर सुधार गर्ने प्रशिक्षक तामाङको अपेक्षा छ ।

एएफसी एशियन कप र फिफा महिला विश्वकपको तयारीस्वरूप एन्फाले यो च्याम्पियनसिप आयोजना गरेको हो । सोहीअनुरूप चार देशीय च्याम्पियनसिप खेल्न लागेको हो । यद्यपि, म्यानमारबाहेक दुई टोली किर्गिस्तान र लेबनान नेपालभन्दा फिफा वरीयतामा तलका टोली हुन् । म्यानमार हाल फिफाको ५५ औं स्थानमा छ । जुन नेपालभन्दा ४८ औं स्थान माथि हो । किर्गिस्तान १२८ औं र लेबनान १३४ औं स्थानमा छन् । त्यसैले ठूलो महत्वाकांक्षा राखेको एन्फाले तुलनात्मक रूपमा कमजोर टोलीसँग तयारी गर्न लागेको हो ।

प्रशिक्षक तामाङले फिफा वरीयतामा केही माथि र तल रहेको टोली भए पनि खेल प्रतिष्पर्धात्मक हुने अपेक्षा गर्नुभयो । आफूहरूले फिफा वरीयतामा धेरै माथिका टोलीसँग पनि खेलिसकेकाले म्यानमारसँग कठिन नहुने र हामी सक्छौं भन्ने सोचेर खेल्दा गाह्रो नहुने आशा गर्नुभएको छ । लेबनान र किर्गिस्तानसँग खेलिसकेकाले म्यानमार पनि केही बलियो रहेको उहाँको भनाइ छ ।

नेपाली टोलीका युवा खेलाडी प्रीति राईले भर्खरै लिग खेलिरहेकाले म्याच एक्सपोजर पनि पाएको र तयारी पनि राम्रो भएकाले प्रतियोगिता सुखद् हुने आशा गर्नुभयो । फिफा वरीयताले खासै असर नहुने आफ्नो टोलीमा क्षमतावान् रहेको प्रीतिले बताउनुभयो । सबै टोली समान बलियो रहे पनि जित निकाल्ने लक्ष्यसहित खेल्ने उहाँको अपेक्षा छ । चोटले केही खेलाडी घाइते भएपनि नयाँ खेलाडी पनि राम्रो रहेको प्रीति बताउनुहुन्छ । जहिल्यै पनि स्वर्ण जित्ने लक्ष्यसहित खेले पनि यसपल्ट सफलता पाउने आशामा नेपाली रहेको छ ।

प्रतियोगिताका लागि टिकट दर साधारण प्यारापिटतर्पm पाँच सय रूपैयाँ र भिआइपीतर्फ एक हजार रूपैयाँ तोकिएको छ । फेब्रुअरी १३ मा किर्गिस्तान र १४ मा अन्य दुई टोली नेपाल आउने भएका छन् । —न्युज एजेन्सी नेपाल