
काठमाडौं । सशस्त्र प्रहरी महनिरीक्षक राजु अर्यालले नेपाल सशस्त्र प्रहरी (एपीएफ) अस्पतालले देशमा आइलागेका प्राकृतिक विपत्ति, कोरोना महमारी र भूकम्पका बेला हजारौंको स्वास्थ्य उपचार गरेको भन्दै आगामी दिनमा अस्पताललाई मेडिकल कलेजको रुपमा विस्तार गर्ने योजना रहेको बताउनुभएको छ ।
एपीएफ अस्पतालको २३औं वार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार बलम्बुमा आयोजित कार्यक्रममा उहाँले एक जना चिकित्सबाट सेवा शुरु गरेको अस्पतालमा हाल ३ सय शैयाबाट सेवा प्रदान भईरहेको बताउनुभयो । आगामी दिनमा अस्पताललाई मेडिकल कलेजको रुपमा विस्तार गर्ने योजना पनि उहाँले बताउनुभयो ।
कोहलपुर, महोत्तरी र सुनसरी लगायत देशका विभिन्न जिल्लामा पनि अस्पतालको सेवा विस्तार गरिएको जानकारी दिँदै महानिरीक्षक अर्यालले कर्तब्य पालनाका क्रममा दिवंगत भएका सशस्त्र प्रहरीका परिवारको उपचारमा ८० प्रतिशत छुट दिँदै आएकोमा अब निशुल्क स्वास्थ्य सेवा दिने बताउनुभयो ।
कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालमा कार्यरत चिकित्सकहरुलाई सम्मान समेत गरिएको थियो भने अस्पताल परिसरमा सञ्चालनमा ल्याइएको सशुल्क फार्मेसीको पनि शुभारम्भ गरिएको थियो । यस्तै अस्पताल परिसरमा निर्माण गरिएको लन टेनिस कोर्टको उद्घाटन समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्