२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राष्ट्रिय राजमार्ग गुरुयोजनाको प्रतिवेदन तयार


520
Shares

काठमाडौं । वर्तमान सरकार गठन भएको दुई सय दिनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।

मन्त्री दाहालले दुई सय दिनका लागि मन्त्रालयले निर्धारण गरेको कार्य प्रगति लक्ष्यउन्मुख रहेको बताउनुभयो । उहाँले विगतमा वर्षा र बाढीको प्रकोपका कारण लक्ष्य प्राप्तिमा कमी आएपनि संवद्ध सबैको सकारात्मक सहयोगले उपलब्धिमुलक कार्य सम्भव भएको बताउनुभयो । उहाँले ठूला आयोजना व्यवस्थापनमा देखिएका समस्या तथा स्रोत साधनको सिमितताका बाबजुत उच्च प्रतिफल हासिल गर्न आवश्यक सबै प्रयत्न गरेको जिकिर गर्नुभयो ।

मन्त्री दाहालले चालु वर्षमा मन्त्रालयका लागि विनियोजित बजेटमध्ये साउनदेखि माघ मसान्तसम्म कुल २८.१५ प्रतिशत खर्च भएको बताउनुभयो । उहाँले दुई लेनको २४६ किलोमिटर तथा लेनमाथिको ३०.५८ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको बताउनुभयो । उहाँले बर्दिवास—चोचा रेलमार्ग खण्डमा थप तीन किलोमिटर ट्रयाकवे निर्माण भएको तथा यातायात व्यवस्थापनतर्फ जिपिएस जडान लगायतका कार्य निरन्तर भइरहेको बताउनुभयो ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले असोज १२ र १३ गतेको बाढीले क्षति गरेका सबै सडक आपत्कालीन रुपमा सञ्चालन गरिएको बताउनुभयो । उहाँले स्थायी रुपमा सडक निर्माण गर्न करिब दुई वर्ष लाग्ने बताउनुभयो ।

क्षति पुगेपछि सञ्चालनमा आएका केही सडक आगामी वर्षाको समयमा चल्न नसक्ने सचिव शर्माको भनाइ छ ।