
काठमाडौं । सत्तापक्षीय दलको बैठक बस्दै छ ।
सत्ताघटक दल नेकपा (एमाले) र नेपाली कांग्रेसले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरेसंगै शनिबार छलफलका लागि बैठक बस्न लागेको हो ।
शुक्रबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले त्यसको लागि शनिबार सत्तापक्षीय दलहरूको बैठक बोलाउने निर्णय गरेको थियो ।
राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत गराउने बिषयमा छलफल गर्न शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो ।
बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूको सहभागिता थियो । एकै सातामा संयन्त्रको यो तेस्रो बैठक हो ।
सरकारले ल्याएका ६ वटा अध्यादेश संसदका दुवै सदनबाट स्वीकृत गराउनुपर्नेछ । ती अध्यादेश सदनमा पेस भइसकेका छन् । तर, राष्ट्रिय सभामा अध्यादेश पारित गर्न आवश्यक बहुमत जुटाउन सरकारलाई हम्मे परिरहेको छ । सरकारलाई समर्थन गरिरहेका दुई दल जसपा नेपाल र लोसपाले अध्यादेशमा समर्थन नगर्ने भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्