
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक भएको बताउनुभएको छ ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा नेता रिजालले समावेशीतालाई बलियो बनाउने गरी निर्वाचन प्रणाली बदल्नुपर्ने बताउनुभएको हो ।
नेता रिजालले कुनैपनि पार्टीको बहुमतबिना राजनीतिक स्थायित्व र उत्तरदायित्वको कल्पना गर्न नसकिने बताउनुभयो । निर्वाचन प्रणालीकै कारण ७४ को निर्वाचनमा नेपाली कांग्रेसले ३३ प्रतिशत मत पाएपनि जम्मा २३ सिट जितेको जिकिर गर्नुभयो । उहाँले ७८ को निर्वाचनमा २६ पतिशत मत पाएपनि गठबन्धन गरेको कारण प्रत्यक्षमा ५७ सिट जितेको तर्क गर्नुभयो ।
२०१५ सालदेखि कुनैपनि पार्टीले ३८ प्रतिशतभन्दा बढी मत नल्याएको भन्दै बढी मत आएन भन्दैमा स्थिरता हुँदैन भन्ने तर्क गर्न नहुने बताउनुभयो । उहाँले १६५ निर्वाचन क्षेत्र कायम गर्दा ६० सिट समानुपातिक प्रणालीका लागि छुट्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले सजिलै निर्वाचन जितेर आउनेलाई समानुपातिकमा ल्याउन नहुने बताउनुभयो । उहाँले निर्वाचन जित्न कठिन हुने समुदायलाई संसदमा आउने बाटोका लागि पनि समानुपातिक प्रणाली आवश्यक भएको तर्क गर्नुभयो ।
नेता रिजालले ०७२ देखि तीन नेता पालैसँग प्रधानमन्त्री भएर तीन नेता एउटा पार्टी र बाँकी अर्को पार्टी जस्तो भएको व्यङ्ग्य गर्नुभयो । उहाँले यस्तो अवस्था आउनुमा को जिम्मेवार छ भन्ने टुङ्गो लगाउन पनि निर्वाचन प्रणालीमा परिवर्तन आवश्यक भएको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्