
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक प्रकोप, जैविक विविधताको क्षति र कृषिमा आधारित जीविकोपार्जनमा समेत खतराहरु बढ्दै गएको बताउनुभएको छ ।
आइतवार काठमाडौंमा पाँचौं ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समयमा जलवायु परिवर्तनका कारण नेपाली समुदायमा गहिरो प्रभाव परेको बताउनु भयो ।
राष्ट्रपति पौडेलले विकसित देशहरुको कार्यबाट उत्पन्न वातावरणीय ह्रासको परिणाम नेपालले भोग्नु परिरहेको बताउनुभयो । उहाँले नेपाल वातावरणीय प्रकोपको निर्दोष पीडित भएको बताउनुभयो । नेपालले विकसित मुलुकले गरेको अन्यायहरुलाई सम्बोधन गर्न र दिगो तथा समतामुलक भविष्यतर्फ काम गर्न ल एशिया र अन्तर्राष्ट्रिय समुदायबाट समेत जलवायु न्यायका लागि एउटा सशक्त न्यायको अपेक्षा गरेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, ‘जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक प्रकोप, जैविक विविधताको क्षति र कृषिमा आधारित जीविकोपार्जनमा समेत खतराहरु बढ्दै गएका छन् । विकसित देशहरुको कार्यबाट उत्पन्न वातावरणीय ह्रासको परिणाम नेपालले भोगेको छ । हामी यी वातावरणीय प्रकोपका निर्दोष पीडित हौँ । यी अन्यायहरुलाई सम्बोधन गर्न र दिगो तथा समतामुलक भविष्यतर्फ काम गर्न हामीले ल एशिया र अन्तर्राष्ट्रिय समुदायबाट समेत जलवायु न्यायका लागि एउटा सशक्त न्यायको अपेक्षा गरेका छौँ ।’
राष्ट्रपति पौडेलले मानव अधिकार, सामाजिक तथा वातावरणीय न्याय समावेशी चरित्रका अधिकारका विषयवस्तुहरु न्यायपूर्ण र समतामुलक समाज निर्माणका लागि महत्वपूर्ण रहेको बताउनुभयो । लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला र मौलिक अधिकार यसको जीवन रेखा भएको उल्लेख गर्नुभयो । कानून व्यवसायीहरु विधिको शासनको पहरेदार र लोकतन्त्रको रक्षक भएको बताउनुभयो । – न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्