२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


प्रतिनिधिसभा बैठक : सांसदका प्रश्न प्रधानमन्त्री ओलीको जवाफ


871
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका सांसदहरुसँग कटाक्ष गर्नुभएको छ ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी फुटाउने नियतका साथ सरकारले अध्यादेश ल्याउन लागेको भन्दै राखेको जिज्ञासाको जवाफमा प्रधानमन्त्री ओलीले माओवादी नेतृत्वको सरकार हुँदा नेकपा एमाले फुटाउनका लागि २० प्रतिशतको प्रावधानसहितको अध्यादेश ल्याएको होइन ? भन्दै प्रतिप्रश्न गर्नुभयो । पुनलाई जवाफ दिने क्रममा ओलीले आफू अर्थमन्त्री हुँदा के अवस्था थियो भनेर स्मरण गर्न आग्रह गर्दै अर्थतन्त्रको चिन्ता लिनुपर्दैन भन्ने ठाडो जवाफ दिनुभयो ।

यस्तै नेकपा एकीकृत समाजवादीका सांसद एवं पूर्व भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई पनि प्रधानमन्त्री ओलीले आफू सरकारमा रहँदा के कति निर्माणका काम भएका थिए ? भन्दै त्यसको जवाफ दिनु भन्नुभयो ।

यति मात्रै होइन सांसद प्रभु साहसँग त प्रधानमन्त्री ओली आक्रोशित मात्रै बन्नुभएन कि साहका प्रश्नको जवाफ नै दिन्न भन्नुभयो । सांसद साहले प्रधानमन्त्री ओलीलाई नेपाली नागरिकता त्यागेर जानेहरुको नेपालमा रहेको सम्पतिको अवस्था, विदेशमा रहेका ७० लाख नेपालीले पठाउने रेमिट्यान्स, वैदेशिक रोजगारीमा गएका नेपालीहरुले विदेशमा ट्रेड युनियन अधिकार पाएन नपाएको, देशको जिडिपीको अवस्था, भारत भ्रमण गर्ने नगर्नेलगायतका आठ वटा जिज्ञासा राख्नुभएकोमा प्रधानमन्त्री ओलीले साहले सोधेका कुनै प्रश्न नै नभएको र उहाँको कुण्ठा मात्रै हो भन्दै जवाफ दिन जरुरी नभएको बताउनुभयो ।

यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचारीहरुलाई मृत्युदण्ड दिने व्यवस्था गर्न माग गर्दा प्रधानमन्त्री ओलीले राज्यले कसैलाई ज्यान दिन वा कसैको लिन ज्यान नसक्ने भन्दै मृत्युदण्ड समस्याको समाधान होइन भन्नुभयो ।

प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले रुकुम र जाजरकोटका भूकम्प पीडितलाई घर बनाउन रकम निकासा दिएकोदेखि सरकारले विकास निर्माणका कामलाई तीव्र रुपमा अघि बढाइरहेको दाबी पनि गर्नुभयो । प्रधानमन्त्री ओलीलाई दश जना सांसदले लिखित प्रश्न सोधेका थिए । जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीलाई आधा घण्टापछि उभिन गाह्रो भएपछि कुुर्सीमा बसेर जवाफ दिनुभएको थियो ।