
काठमाडौं । प्रतिनिधि सभा बैठको शुन्य समयमा सांसदहरुले जनचासोका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले विभिन्न जनचासोका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले १४ सय विघा जग्गासहितको ७२ कुण्ड र ५२ कुटी भनेर परिचित अध्यात्मिक केन्द्र जनकपुरको जग्गा लुटिएको बताउनुभयो । उहाँले १२ सय बिघा जग्गा दलाल र जनप्रतिनिधिनै मिलेर निजीकरण गरेकाले खोजतलास गरी पुनः स्थापित गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले मकवानपुरमा रहेको अन्टार्टिका बिस्कुट फ्याक्ट्रीमा व्यवस्थापनले हटाएको ९६ जना मजदुरलाई तुरुन्त काममा फर्काउन सहजीकरणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेकपा एमालेका सांसद महेश बस्नेतले नेपाल सरकार अन्तर्गतका कार्यालयहरुमा संवैधानिक व्यवस्थाविपरित विकास निर्माणसँग संवद्ध कार्यालयहरुले अंग्रेजी भाषाको प्रयोग गरेकोप्रति सरकारको ध्यानाकर्षण राउनुभयो ।
नेपाली कांग्रेसकी सांसद मैना कार्कीले तरकारी तथा फलफूलमा विषादीको प्रयोग कम गर्न र नागरिकको स्वास्थ्यको रक्षा गर्न बलियो कानुन बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । विषादीका कारण क्यान्सरलगायत डर लाग्दा रोगहरु लाग्ने गरेको भन्दै सरकारले यसमा चासो दिनुपर्ने उहाँको भनाइ छ ।
नेकपा एमालेका सांसद मंगलप्रसाद गुप्ताले कृषि मन्त्रालयले कपिलवस्तुका उखु किसानलाई अनुदानको रकम उपलब्ध गराउन सिफारिस गरेपनि कृषि, अर्थ र उद्योग मन्त्रालयले एकअर्कालाई देखाएर पन्छिने गरेकोप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले तत्काल किसानलाई रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
स्वतन्त्र सांसद योगेन्द्र मण्डललले सिमेन्टको मूल्य एकैपटक २६१ रुपैयाँ वृद्धि गरेपछि व्यवसायीलाई २२ अर्ब घाटा भएको बताउनुभयो । १२० रुपैयाँ वृद्धि गर्ने भन्ने मन्त्रीसँग भएको सहमति किन कार्यान्वयन भएन रु भनि सरकारसँग प्रश्न गर्नुभयो ।
नेकपा एमाले सांसद रणकुमारी वलम्पाकी मगरले गत असोज १२ गतेको वर्षा र बाढीले बिगारेको विपी राजमार्ग सहज सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले आउँदो वर्षाको समयमा सडक सञ्चालनका लागि तत्काल विपद् व्यवस्थापनबाट ६० करोड बजेट तत्काल विनियोजन गर्न माग गर्नुभयो ।
जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले स्वास्थ्य बीमा प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सबै सरकारी तथा निजी अस्पतालमा स्वास्थ्य बीमा डेस्क खडा गर्न माग गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने गरेपनि १८० देशमध्ये नेपाल १०७ औँ भ्रष्टाचार हुने मुलुकमा पर्नु दुःखद् भएको बताउनुभयो । उहाँले धुलोले टाँसिएका फाइलहरु कहिले खोल्न ढिला भएन र रु भन्दै प्रश्न गर्नुभयो ।
सांसदहरुले संसदमा आफ्ना निर्वाचन क्षेत्रका विभिन्न समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्