१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रकृति लम्साल आत्महत्या प्रकरण : एक जना पक्राउ, थप अनुसन्धान जारी


11.141k
Shares

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्यययनरत नेपाली विद्यार्थी मृत्यु भएको घटनामा सरकारले कुटनीतिक पहलबाट समस्या समाधान गर्ने प्रयास गरिरहेको बताएको छ ।

सोमबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।

उक्त विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो । उनको मृत्युलाई लिएर नेपाली विद्यार्थीले निष्पक्ष छानबिनको माग गर्दै बिरोध प्रदर्शन गरेका थिए । विरोधपछि नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालिएको थियो ।

सोही घटनाक्रमलाई लिएर सरकारले बिहानैदेखि पहल गरिरहेको र विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासमा राखेर अध्ययन गराउने पहल भएको परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले बताउनुभयो । उहाँले सरकारको तर्फबाट मृतक लम्सालको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो ।

उक्त इन्स्टिच्युटमा विकसित घटनाक्रम र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालिएको जानकारी प्राप्त हुनासाथ भारतको नयाँ दिल्लीस्थित नेपाली राजदुतावासले उक्त शैक्षिक संस्थाका रजिस्टार लगायत प्रतिनिधिहरुसँग छलफल गरी समस्या समाधानको पहल गरेको बताउनुभयो ।

नेपाली दुतावासले मित्रराष्ट्र भारतको केन्द्र सरकार एवं उडिसाका मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित निकायहरुसँग निरन्तर सम्पर्क र समन्वय गरेको र सम्बन्धित सबै निकायहरुको महत्वपूर्ण सहयोगमा उक्त समस्याको समाधान खोजिएको बताउनुभयो । शैक्षिक संस्थाले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासमा नै बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीका लागि कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी दिएको र मृतक प्रकृति लम्सालको आत्महत्या प्रकरणसँग जोडिएका एक जनालाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले स्वतन्त्र र निष्पक्ष छानविन हुने र दोषीहरुमाथि कारबाही हुने विश्वास मन्त्रालयको रहेको पनि बताउनुभयो ।

शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर कुटनीतिक पहल गरिरहेको र मंगलवार नेपाली राजदुतावास नयाँ दिल्लीबाट प्रतिनिधिहरु उडिसास्थित उक्त शैक्षिक संस्थामा गइ सम्बिन्धत सबै निकायहरुसँग थप समन्वय गर्ने जानकारी दिनुभयो ।