५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


काँग्रेस सत्तापक्ष हो तर सरकारमा छैन : शेखर कोइराला


3.926k
Shares

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले काँग्रेस अहिले सरकारमा नरहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुले राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद कोइरालाले काँग्रेस सत्ता पक्षमा रहेको तर सरकार बाहिर रहेको जिकिर गर्नुभयो । उहाँले सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता रहेको बताउनुभयो । बिस्तारै बिस्तारै थाहा नपाउने गरी सरकार एमालेकरण हुन लागेको उहाँको आरोप छ ।

सांसद कोइरालाले सरकारमा नरहेको बताएपनि अहिले नेपाली काँग्रेस र नेकपा एमालेको सरकार संघदेखि प्रदेश तहसम्म नै रहेको छ । संयन्त्रले सरकार चलाउने कुरा कम्युनिष्टहरु र साम्यवादी देशहरुमा मात्रै हुनसक्ने भन्दै लोकतन्त्रमा त्यस्तो नहुने जिकिर गर्नुभयो । उहाँले अहिले केन्द्रदेखि गाउँपालिकासम्म संयन्त्रबाट शासन गर्ने र अब बिस्तारै वडामा पनि संयन्त्र बनाएर शासन गर्ने दुष्प्रयत्न भइरहेको बताउनुभयो ।

सांसद कोइरालाले सामाजिक सञ्जाल सम्बन्धी विधेयक मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति आघात पुग्नेगरी ल्याइएको बताउनुभयो । नियमन गर्ने नाउँमा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नपाइने बताउनुभयो । कुनैपनि हालतमा सरकारले संसदमा पेश गरेको सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता गरेर सम्बन्धित सरोकारवालहरुसँग छलफलपछि मात्रै पुनः ल्याउनुपर्ने बताउनुभयो ।

सांसद कोइरालाले भन्नुभयो, ‘सामाजिक सञ्जाल सम्बन्धी जुन विधेयक छ । यो विधेयक भर्खर संसदमा गएको छ । छलफल हुनतः बाँकी नै छ । तर जसरी यो विधेयक आएको छ । र जस्ताको त्यस्तै पास भयो भने मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति नै आघात पुग्छ । नियमन गर्ने नाउँमा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न पाइँदैन ।’

सांसद कोइरालाले देशमा सुशासन, राजनीतिक स्थायित्व दिनका लागि वर्तमान सरकार बनाएपनि सरकारका काम कारवाही घुस दिनेलाई समात्ने र घुस लिनेलाई उन्मुक्ति दिने किसिमको देखिएको आरोप लगाउनुभयो । उहाँले सरकारका महान्यायाधिवक्ता रमेश बडालले राज्यले दिएको अधिकारको दुरुपयोग गर्नुभएको आरोप लगाउनुभयो । – न्युज एजेन्सी नेपाल