
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा आज शुभकामना व्यक्त गर्नुहुँदै उहाँले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा “मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ” व्यक्त गर्नुभएको छ । “सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो । विसं २००७ को क्रान्तिको जगमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका हौँ ।” राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा उल्लेख छ ।
राष्ट्रपति पौडेलले “लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनोट भई अहिले संविधानतः तीनै तहका सरकारहरू बनेका छन् । यी निश्चिय नै हाम्रा लागि धेरै ठूला र ऐतिहासिक उपलब्धि हुन् । यिनै उपलब्धिको जगमा हाम्रो भविष्यको सुखद् यात्रा प्रारम्भ भएको छ भन्ने मैले विश्वास लिएको छु ।” शुभकामना सन्देशमा व्यक्त गर्नुभयो ।
राष्ट्रपति पौडेलले प्रजातन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनलाई पथप्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजप्रति पनि सम्मान तथा श्रद्धा प्रकट गर्नुभएको छ ।
आज ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
प्रतिक्रिया दिनुहोस्