
पाल्पा (भरत शर्मा)। पाल्पामा विगत केही वर्षयता गाउँगाउँमा होम स्टे सेवा विस्तार हुँदै गएको छ । होम स्टे प्रभावकारी बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुक आर्कषित हुदै गएका छन् जसका कारण जिल्लाको १० वटै पालिकाहरुमा होम स्टे सेवा सञ्चालन भएको छ । हालै मात्र रम्भा गाउँपालिका वडा नंं २ फोक्सिङ्कोटमा रानीबास होम स्ट तथा जनजाती संग्रहालय सञ्चालनमा आएको छ ।
सदरमुकाम तानसेनबाट करीव ३५ किलोमिटर दुरीमा रानीबास होम स्टे पुगिन्छ । पर्यटन प्रवर्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले स्थानीयले रानीबास होम स्टे सञ्चालनमा ल्याएका हुन् । होम स्टेलाई व्यवस्थित रुपमा सञ्चालन गर्न गाउँपालिकाले जनजाती संग्रहालयसहित पाहुनाहरुलाई मनोरञ्जन प्रदान गर्ने परम्परा र आधुनिकता मिश्रण गरेर होम स्टे सञ्चालन गरिएको हो ।
होम स्टे तथा जनजाती संग्रहालय सञ्चालनका लागि पर्यटन मन्त्रालय र गाउँपालिकाबाट १ करोड १५ लाख रुपैयाँ लगानी भएको छ । रैथालेबालीको नियमित उत्पादन, परम्परागत कला संकृतिको प्रदर्शन, प्राकृतिक सौन्दर्यता, एकै किसिमको मगर बस्ती भएका कारण होम स्टे सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीदेखि स्थानीयवासी होम स्टे सञ्चालन भएकोमा उत्साहित छन् । होम स्टेमा बास बस्ने पाहुनाहरुलाई स्थानीय झार्मे नाँच, मारुनी नाँच, सालेजो, कौडाबाट मनोरञ्जन गराउने व्यवस्था गरिएको छ । होम स्टेमा पुगेका पाहुनाहरुलाई स्थानीय, उत्पादित अर्गानिक परिकार मात्र खुवाउने रानीवास होम स्टे सञ्चालक गंगाबहादुर गाहाँले बताउनुभयो ।
फोक्सिङ्कोटमा ९३ घरपरिवार मगर जाती रहेका छन् जसमा १४ घरमा होम स्टे सञ्चालन गरिएको छ भने अन्य घरहरुमा पनि विस्तार गर्ने योजना रानीबास होम स्टे सञ्चालक समितिले बनाएको छ । होम स्टे सञ्चालक समितिले प्रति व्यक्ति एक दिनको एक हजार रुपैयाँ मात्र सेवा शुल्क लिने नियम बनाएको छ । गाउँमा रहेका स्थानीय र पाका पुस्ताहरुले, विदेश गएका परिवारलाई पनि आफ्नै गाउँ ठाउँमा बोलाई होम स्टे व्यवसायमा संलग्न गराउने योजना बनाएको बताउँछन । यो कार्यक्रमबाट आफुहरु निकै उत्साहित भएको र पाहुनाहरुलाई खुशी बनाएर पठाउने आफुहरुको उद्देश्य रहेको रानीबास होम स्टे संचालक समितिकी अध्यक्ष देउ कुमारी सारुले बताउनुभयो ।
गाउँ गाउँमा सञ्चालन भएका यस्ता होम स्टे अभियानबाट ग्रामिण पर्यटनको विकास गर्न, वैदेशिक रोजागारीलाई न्यूनीकरण गर्नुका साथै आफ्नै गाउँघरमा बसी आयआर्जन बढाउन सहयोग पग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्