
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्ने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित नेपाल कानून पत्रिका (पुरानो अंक), प्रधानन्यायालय २००९, विमोचन कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले ऐतिहासिक धरोहरलाई संरक्षण र संवद्र्धन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार स्तम्भ भएको उल्लेख गर्नुभयो । उहाँले यिनै धरोहरबाट भविष्यको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्ने बताउनुभयो ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले नेपालमा कानूनको पालना गराउने र कानूनी सर्वोच्चताको वकालत गर्ने संस्थाहरु कमजोर बन्दै गएको बताउनुभयो । अदालत जस्ता संस्थालाई बलियो बनाउन राजनैतिक प्रतिवद्धता पनि कमजोर रहेको उहाँको जिकिर छ । यस्तो खालि अवस्थालाई वदनियत राख्नेहरुले प्रयोग गर्नसक्ने खतरा रहेको उहाँको भनाइ छ । कानूनी प्रणाली बलियो बनाएर मात्र जग बलियो हुने भन्दै उहाँले जग बलियो कसरि बनाउने भन्ने विषय इतिहाँसबाट सिक्न सकिने बताउनुभयो ।
नेपाल कानून पत्रिका (पुरानो अंक), प्रधानन्यायालय २००९, विमोचन कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले ढिलो भएपनि इतिहासको अभिलेख गर्ने काम शुरु हुनु खुशीको कुरा भएको बताए । न्याय सम्पादन गरिएका कुराहरु पहिला जस्तो राम्रोसँग लेख्ने प्रचलन (लेखन शैली) बिग्रिएको उनीहरुको गुनासो छ । जुन राष्ट्र र जातिले आफ्नो इतिहास बिर्सिन्छ उसको उन्नति प्रगति नहुने बताए । इतिहासलाई जोडेर मात्रै देश विकास सम्भव रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्