
काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको छात्रावासमा गत आइतबार शंकास्पद रुपमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गरिएको छ ।
रुपन्देहीको सिद्धार्थननगर नगरपालिका ८ स्थित बैंकरोड कोलोनी घर भएकी उनको भैरहवाको स्वर्गद्वारी घाटमा दाहसंस्कार गरिएको हो । भारतको ओडिसा राज्यको भुवनेश्वरबाट गोरखपुर हुँदै बुधबार भैरहवा ल्याइएको थियो ।
विश्वविद्यालय प्रशासनले उनले आत्महत्या गरेको दाबी गरेको छ । तर मृत्यु शङ्कास्पद भएको भन्दै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा विश्वविद्यालय प्रशासनले कुटपिट र दुर्व्यवहार गर्दै घर फर्किन भनेको थियो । जसको चौतर्फी विरोध भएको थियो ।
प्रकृतिका आफन्तले बताए अनुसार कलेज प्रशासनलाई सोही कलेजमा अध्ययनरत भारतकै विद्यार्थी अड्विक श्रीवास्तवले पटकपटक दिइरहेको मानसिक यातनाबारे प्रमाणका साथ दुई पटक उजुरी दिँदा पनि कुनै सुनुवाइ भएको थिएन ।
यसैबिच नेपाल सरकारको कूटनीतिक पहलपछि विश्वविद्यालय प्रशासनले माफी माग्दै नेपाली विद्यार्थीहरुलाई फर्किन र पढाइ जारी राख्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्