
कपिलवस्तु । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले प्राविधिक शिक्षाको समय भएको बताउनुभएको छ ।
कपिलवस्तुको विजयनगर गुगौलीमा रहेको दुधारी नमुना माध्यमिक विद्यालयको १५ कोठे भवनको उद्घाटन गर्दै महासचिव पोखरेलले प्राविधिक शिक्षामा आकर्षण बढिरहेकाले शिक्षालाई व्यवहारिक र स्वरोजगार मूलक बनाउन आवश्यक रहेको बताउनुभयो ।
पोखरेलले वर्तमान शिक्षा प्रणाली साधारण रहेको र यसलाई व्यावसायिक शिक्षामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । कपिलवस्तु शिक्षाका दृष्टिले पछाडि रहे पनि अहिले अन्य सबै दृष्टिकोणबाट अघि बढिरहेकोमा खुशी व्यक्त गदै व्यावसायिक शिक्षाले मात्रै युवाहरूलाई आत्मनिर्भर बनाउन सक्ने पनि बताउनुभयो ।
पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्दै व्यावहारिक सीपमा आधारित बनाउनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले आफ्नो कार्यकालमा कपिलवस्तु जिल्लाका विभिन्न सडक परियोजनाहरूमा पहल गरेको दाबी समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्