
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले २०८२ साल असार मसान्तभित्र सर्वोच्च अदालतमा ८ वर्ष नाघेका मुद्दाको संख्या शून्यमा झार्ने घोषणा गर्नुभएको छ ।
बिहीबार सर्वोच्च बार एशोशिएशनको ५१ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले यस्तो घोषणा गर्नुभएको हो ।
प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतमा आठ वर्ष नाघेका मुद्दाहरु हजारौंको संख्याबाट घटाएर ७८ थान मात्र बाँकी रहेको बताउनुभयो । उहाँले बाँकी ७८ थान मुद्दा समेत आउँदो वर्षको असार मसान्तसम्म शुन्यमा झार्ने बताउनुभयो । उहाँले पाँच वर्ष नाघेका मुद्दाहरु समेत २०८३ सालसम्म शुन्यमा झार्ने लक्ष्य राखिएको बताउनुभयो । उहाँले अहिले सर्वोच्चमा पाँच वर्ष नाघेका मुद्दाको संख्या दुई हजार चार सय रहेको समेत उल्लेख गर्नुभयो ।
प्रधानन्यायाधीश राउतले सर्वोच्चबाट फैसला हुने आदेश र फैसलाहरुमा सशक्त टिप्पणी गर्न समेत कानून व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले आदेशप्रति आग्रह पूर्वाग्रह नराखि टिप्पणी गर्न अनुरोध गर्नुभयो ।
प्रधानन्यायाधीश राउतले कानून व्यवसायीहरुसँग भएको ज्ञान र क्षमाता कानून निर्माणको क्षेत्रमा संप्रेषण हुन नसकेको बताउनुभयो । उहाँले कानून बनाउँदा कानून व्यवसायी र संसदबीच पर्याप्त छलफल नहुँदा अन्यायपूर्ण र दोषपूर्ण कानून बन्ने गरेको बताउनुभयो ।
प्रधानन्यायाधीश राउतले आफूसँग भएको ज्ञान, अनुभव र निपूर्णता कानून निर्माण गर्ने क्रममा लबिङ हुनुपर्ने बताउनुभयो । उहाँले कानून व्यवसायी र संसदबीच पर्याप्त छलफल र सहकार्य नहुँदा आवश्यकता नपर्ने कानूनहरु समेत बनेको बताउनुभयो ।
कानून लागू नगर्दै संसद र कानून व्यवसायीबीच व्यापक छलफल गर्ने परम्पराको विकास गर्न जरुरी रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्