
गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ
काठमाडौं । काठमाडौं महानगरपालिकाले चक्रपथ भित्रका कवाडखानाहरुमा फेरि डोजर चलाउन थालेको छ । शहरी सौन्दर्य र सुरक्षाको जोखिम बढेको भन्दै कवाडखानाहरुलाई चक्रपथ बाहिर पठाउने निर्णय गरेको महानगरपालिकाको आग्रहलाई अटेर गर्ने कवाडखाना महानगरपालिकाले डोजर चलाएर भत्काउन थालेको हो ।
काठमाडौं महानरपालिकाले मापदण्ड विपरित चक्रपथ भित्र रहेका कवाडखाना हटाउने क्रममा कवाडी व्यावसायीहरुले गरेको विरोध गरे । काठमाडौं महानगरपालिकाले काठमाडौंको चक्रपथ भित्र कवाडखाना बन्द गर्न पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि आज महानगरपालिकाले राजधानीको गैह्ीधारा क्षेत्रका कवाडखानामा बिहीबार बिहानै डोजर चलायो । डोजर छिर्न नसक्ने ठाउँमा भने महानगर प्रहरीको टोलीले कवाडीखाना भत्काएका हुन् । महानगर प्रहरीको टोली देखेपछि केही कवाडी व्यवसायीले भने हतार हतार आफना सामान अन्यत्र सारेका थिए । तर महानगरले आफुहरुको उठिवास लगाएको भन्दै दुखेसो पनि पोखे ।
हुन त कवाड व्यवसायीहरु महानगरको यो अभियानप्रति जानकार नभएका होइनन् । कतिपयले अदालतबाट स्टे अर्डर पनि ल्याइसकेका थिए । तर महानगरपाकिाले वडामा दर्ता नभएको स्टे अर्डर लिएर वस्नुको अर्थ नभएको भन्दै स्टे अर्डर लिएका कवाडखाना पनि भत्काइदिएको छ । महानगरपालिका आफ्नो अभियानबाट पछि नहट्ने बुझेपछि उनीहरुले चक्रपथ बाहिर जानका लागि समय पनि मागेका छन् । तर महानगरपालिका भने यसअघि पटक पटक ताकेता गरिसकेको भन्दै मापदण्ड विपरितका कवाडखाना भत्काउने पक्षमा अडिग देखिएको छ ।
महानगरपालिकाले कवाड व्यावसायीलाई दुःख दिएको भन्दै सडकदेखि सदनसम्म विरोध पनि हुदै आएको छ । तर महानगरपालिकाले कवाडीखानाहरु वस्ती नजिक रहँदा सुरक्षाको जोखिम हुने तथा शहरी सौन्दर्य कायम गर्न कठीन हुने भन्दै कवाडखानालाई चक्रपथ बाहिर पठाउन दृढ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्