
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले महाशिवरात्री भव्य रुपमा सम्पन्न गर्नेगरी तयारी तीव्र र व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ ।
महाशिवरात्रीको पूर्वसन्ध्यामा महाशिवरात्री तयारीको अवस्थाबारे जानकारी लिन शुक्रवार बिहान पशुपतिनाथ पुग्नुभएका पर्यटनमन्त्री पाण्डेले महाशिवरात्रीलाई भव्य बनाउने तयारी गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिनुभएको हो ।
मन्त्री पाण्डेले विगतका वर्षहरुमा भन्दा अझ बढी व्यवस्थित बनाइ भक्तजनलाई सहज रुपमा दर्शन गर्न मिल्नेगरी तयारी गर्न आग्रह गर्नुभयो । उहाँले महाशिवरात्री नेपालीहरुको महान पर्व भएको र नेपाललाई चिनाउने पशुपति नाथ भएकाले पशुपतिनाथको महिमालाई शिखरमा पु¥याउने दिन महाशिवरात्री भएको उल्लेख गर्नुभयो । उहाँले महाशिवरात्रीलाई जति व्यवस्थित गर्नसक्यो त्यति नै महत्व बढ्ने बताउनुभयो ।
मन्त्री पाण्डेले भन्नुभयो, ‘नेपाललाई चिनाउने पशुपतिनाथ र पशुपतिनाथको महिमालाई शिखरमा पु¥याउने दिन भनेको महाशिवरात्री हो । त्यो दिनलाई जति व्यवस्थित गर्नसक्यौँ, जति राम्रो गरी सञ्चालन गर्नसक्यौँ । देश विदेशबाट आएका भक्तजनहरु शिवरात्रीमा पशुपतिमा पुगेर जति धेरै खुशी हुन सक्नुभयो, जति धेरै सहजता महशुस गर्न सक्नुभयो, त्यति नै महत्व, महाविशरात्रीको महत्व र देशको महत्व बढ्छ । हाम्रो सभ्यता र संस्कृतिले पनि देश र विदेशमा ख्याति प्राप्त गर्छ । तयारी तीव्र गतिमा भइरहेको छ ।’
मन्त्री पाण्डेले महाशिवरात्री मुल समारोह समितिले अन्तर समन्वय गरेर स्वास्थ्य, खानेपानीको व्यवस्था मिलाउने जानकारी दिनुभयो । – न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्