
काठमाडौं । पशुपतिनाथको गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ ।
अख्तियारले २०८० असोज १४ गते पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव डा. प्रदीप ढकाल, पूर्वकोषाध्यक्ष डा मिलनकुमार थापा र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो. । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले तीनै जना अभियुक्तलाई गत वैशाख १८ गते सफाइ दिएको थियो ।
अख्तियारले उक्त फैसला चित्तबुझ्दो नरहेको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको हो । जलहरी राख्ने क्रममा ढकाल र थापाको निर्देशनमा गर्भगृहमा रिङ जडान गरेपछि बिना मुचुल्का अरु काम गरेको बयान उनीहरूले नै दिएको भन्दै अख्तियारले १४ सय ९१.७१८ ग्राम सुनको तत्कालिन बजार मूल्य अनुसार हुने १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँबराबर हिनामिना गरेको दाबी गर्दै आएको छ । घोटालामा अभियुक्तहरू ढकाल, थापालगायतको प्रत्यक्ष भूमिका रहेको पुष्टि भइरहेकोमा त्यसतर्फ बेवास्ता गरी फैसला भएको फैसला त्रुटिपूर्ण रहेको अख्तियारको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्