
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानको असफलताले मुलुकलाई गम्भिर संकटमा धकेल्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित सुदूरपश्चिम कानून समाजले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लेखकले नेपालको संविधान विश्वकै उत्कृष्टमध्ये एक भएको दाबी गर्दै वर्तमान व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता भएको बताउनुभयो । उहाँले २००४ सालदेखि ७० वर्षमा सातवटा संविधान निर्माण हुनु राजनीतिक अस्थिरताको भुमरिमा रहेको पुष्टि हुने बताउनुभयो ।
गृहमन्त्री लेखकले पटक पटक संविधान निर्माण गर्नु गलत भएकाले वर्तमान राज्य व्यवस्था र प्रणालीलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । नेपालको संविधान विश्वकै राम्रो मध्येको एक संविधान भएको बताउनुभयो ।
गृहमन्त्री लेखकले कानूनको शासन लोकतन्त्रको आधारभुत आवश्यकता भएको बताउनुभयो । उहाँले कानूनी शासन स्थापना गर्नसके मात्रै लोकतन्त्र जीवित रहने बताउनुभयो । शासन व्यक्तिले नभइ विधिले गर्छ भन्ने कुराको अग्रणी स्थानमा कानुन व्यवसायी रहेको उहाँको भनाइ छ ।
गृहमन्त्री लेखकले लोकतन्त्र भनेको अनुशासनको पद्धति भएकाले त्यहाँ कानूनी शासन हुने बताउनुभयो । उहाँले संवैधानिक व्यवस्थाअनुसार नै हरेक १० वर्षमा संविधानको पुनरावलोकन गरी दुर्वल पक्षको पहिचान र परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्