
काठमाडौं । फागुन ११ गतेदेखि शुरु हुने केपी टोली कप राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो संस्करणको तयारी पूरा भएको छ ।
आयोजक राष्ट्रिय युवा संघ नेपालले शनिबार पत्रकारमार्पmत प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।
फागुन १९ गतेसम्म हुने प्रतियोगितामा पछिल्ला दुई संस्करणको च्याम्पियन मच्छिन्द्र क्लव, एपिएफ, नेपाल पुलिस क्लव, त्रिभूवन आर्मी क्लव, न्युरोड टिम (एनआरटी), संकटा, भुटानको ट्रास्पोर्ट युनाइटेड, उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र आयोजकको टोलीले प्रतिष्पर्धा गर्दैछन् ।
दुई विदेशी टोलीमध्ये ब्ल्याक बुल्सले केही हप्ताअगाडि मात्र सम्पन्न आहारारा फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।
केपी ओली कपका खेलहरू सातदोबाटो एन्फा कम्प्लेक्स र फाइनल दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् ।
गत संस्करणको विजेताले ११ लाख रुपैयाँ प्राप्त गरेको थियो । सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उदीयमान खेलाडीले समान ५० हजार र प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र पाउनेछन् । हरेक खेल जित्ने टोलीले २५ हजार रुपैयाँ पाउनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा एपिएफ र ब्ल्याक बुल्स प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्